
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पहिलो निर्वाचित नगरप्रमुखको हैसियतमा शून्य अवस्थाबाटै काम सुरु गरेका हौँ । समृद्ध नगरको सपनालाई बोकेर स्थानीय तहको मैदानमा उत्रिएँ । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएर आठबिसकोट नगरपालिकामा लोकप्रिय मतसहित निर्वाचित भएपछि जनताका विकास निर्माणका सपनालाई पूरा गर्दै गएका छौँ । स्थानीय तहको निर्वाचन भएको झन्डै पाँच वर्ष बित्न लागेको छ । यस अवधिमा नगरपालिकामा धेरै काम भएका छन् ।
स्थानीय सरकारको प्रभावकारिता र अभ्यासमा केही समस्या देखिए पनि त्यसलाई क्रमशः समाधान नजिक पुर्याएका छौँ । नगरपालिकाको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भइसकेकाले अहिले त्यसलाई कार्यान्वयनमा लगिरहेका छौँ ।
खासगरी नेपाललाई संघीय संरचनामा लगिएपछिको स्थानीय तहको यो पहिलो चुनाव थियो । पहिलो निर्वाचित जनप्रतिनिधि भएका कारणले हामीले पहिलो चरणमा जग बसाउने काम गरेका छौँ । अब आउने जनप्रतिनिधिलाई काम गर्न यसले धेरै सहज गर्नेछ । पहिलो पटक निर्वाचित हुँदाको समय विभिन्न कठिनाइ थिए । झन्डै पाँच वर्षको समय ठूलो मिहिनेत गरेकै कारण चुनौती चिर्न सफल भएका छौँ । नगरपालिकामा पूर्वाधार, स्वास्थ्य, शिक्षा, यातायात, सडक, सिँचाइ, खानेपानीलगायत क्षेत्रमा उल्लेखनीय सुधार भएको छ ।
श्रममार्फत उत्पादनलाई पनि जोड दिएका छौँ । यी समग्र पाटोलाई हेरेर अब आठबिसकोट नगरपालिकालाई कसरी समृद्ध नगरतिर लैजाने भन्ने योजनामा छलफल गरिरहेका छौँ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा विद्यालय व्यवस्थापन समितिलाई तालिम दिने काम, विद्यार्थी, प्रधानाध्यापकलाई भारतका विद्यालयमा रहेका विज्ञान प्रयोगशाला अवलोकन, भौतिक तथा गुणस्तर सुधारका काम गरेका छौँ । शिक्षकलाई पनि विभिन्न विषयमा रहेर तालिम दिइरहेका छौँ । २०२८ सम्म शिक्षामा नागरिक पहुँच अति कम थियो । शिक्षाले सबै नागरिकलाई छोएन । पछि पहुँच विस्तार गरियो । स्रोत–साधन विस्तार गरिएन । हाम्रो नगरपालिकामा पनि यही अवस्था थियो । सुरुमा विद्यालय खोल्न सरकारले अनुमति दिए पनि कुनै पनि शिक्षक दरबन्दीको व्यवस्था थिएन ।
जनताले निजी स्रोतबाट शिक्षक व्यवस्थापन गरेका थिए । शिक्षक तलबविहीन थिए । त्यसले गर्दा शिक्षा क्षेत्र नाजुक अवस्थामा थियो । पहिलो चरणमा हामीले यी सबै समस्या समाधान गर्न शिक्षा प्रणालीमा रहेको शैक्षिक अवस्थालाई गहिरो अध्ययन गर्यौँ र जथाभावी खोलिएका निजी विद्यालयको व्यस्थापन, भूगोलअनुसार विद्यालय गाभ्ने र विद्यालय सुधारका लागि गुरुयोजनामार्फत शिक्षा क्षेत्रलाई सुधार गरेका छौँ । सोही कारण पढाइ केन्द्रित विद्यालयको नतिजामा सुधार हुँदै गएको छ । सुरुको वर्षमा ८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण हुने विद्यालयमा अहिले बढेर ५०/५५ प्रतिशत पुगेको छ । हाम्रो निरन्तर मिहिनेतले शिक्षामा उल्लेखनीय सुधार भएको छ । हामी नै नेपालभरकै नगरपालिका हौँ, जसले २०५ जना शिक्षकलाई नगर आफैंले व्यवस्थापन गरेर काम गराइरहेको छ ।
भौतिक संरचनामध्ये सुरु अवस्थामा ६३ विद्यालयमध्ये ९ वटा मात्रै पक्की भवन थिए । अहिले ३४ वटा पक्की भवन छन् र तत्कालै २१ वटा थप गर्दै छौँ । समग्रमा विद्यालयको संस्थागत विकास, प्रभावकारी नेतृत्व निर्माणसँग गाँसिएका विविध पक्ष समेटेर शैक्षिक क्षेत्रलाई थप सुधार गर्ने प्रयत्नमा छौँ ।
हामीले स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता दिएका छौँ । सोहीअनुरूप काम गरिरहेका छौँ । स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति र सबै वडामा सरकारी स्वास्थ्य संस्था स्थापना, स्वास्थ्यसम्बन्धी जनशक्ति स्वास्थ्य संस्थासम्म पुर्याउने, संविधानले प्रत्याभूत गरेका स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन, औषधी तथा उपकरण, मापदण्डअनुसारको भौतिक पूर्वधारसहितको गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता र रोग नियन्त्रण तथा प्राकृतिक प्रकोप व्यवस्थापनलगायत सबै स्वास्थ्य क्षेत्रमा अनुगमन तथा योजना सुदृढीकरण कार्यक्रम अघि सारेका छौँ । स्वास्थ्य क्षेत्रमा यो साढे चार वर्षको अवधिमा हामीले एक किसिमको नयाँ क्रान्ति गरेका छौँ ।
स्वास्थ्य संस्था र जनशक्तिको कुरा गर्ने हो भने सुरुको चरणमा ५ वटा स्वास्थ्य संस्था र कार्यालय सहयोगीसहित २१ जना स्वास्थ्यकर्मी थिए । नगरपालिकामा सबभन्दा बढी समस्या शिक्षा र स्वास्थ्य क्षेत्रमै थियो । हामीले चुनावका बेला जनतालाई वाचा गरेअनुसार अहिले २५ वटा स्वास्थ्य संस्था र १२५ जना जनशक्ति पुर्याइसकेका छौँ । निर्वाचित भएकै वर्षदेखि भूगोल र जनताको मागअनुसार हामीले पालिका केन्द्रमा सुविधासम्पन्न स्वास्थ्य संस्था र दक्ष जनशक्ति परिचालन गरेका छौँ ।
विकास योजना सञ्चालन गर्दा चुनौती सामना गर्नुपरे पनि यसलाई समाधान नजिक लगिरहेका छौँ । चुनौतीलाई अवसरको रूपमा लिएर काम गरेका छौँ । संविधानले दिएको अधिकारलाई प्रयोग गर्ने कुरामा कयौँ कानुनी समस्या थिए । वडा, नगरपालिकाको भर्खरै मात्र पुनर्संरचना बन्दै थियो । भौतिक पूर्वाधार, कर्मचारी व्यवस्थापन, कानुनी अस्पष्टतालगायत थुप्रै समस्या थिए । ती समस्या सल्टाउनैका लागि जनतामाझ गएका थियौँ ।
नगरपालिकामा आधारभूत आवश्यकता तथा विकासका पूर्वाधारको उचित व्यवस्था हुनुपर्छ । हरेक वर्षझैँ विकास निर्माणका कार्यलाई निरन्तरता दिँदै विद्युतीकरणलाई पनि प्राथमिकतामा राखेका छौँ । नगरपालिकाको केन्द्रमा बत्ती थिएन । कार्यसम्पादन गर्न निकै अप्ठेरो थियो । स्थानीय उत्पादनका विद्युत् भरपर्दो नहुँदा निकै समस्या झेल्नुप¥यो । विद्युत् प्राधिकरणसँगको सहकार्यमा अहिले बजारमा केन्द्रीय लाइनमार्फत बत्ती बलिरहेको छ । यही कार्यकालभित्रै सबै वडामा बत्ती बाल्ने लक्ष्य लिएका छौँ । केन्द्रीय प्रसारण लाइन पुगेपछि अब सञ्चार क्षेत्रलाई पनि थप मर्मत गर्दै छौँ । नेपाल टेलिकमको नेटवर्क अहिलेसम्म सोलारबाट चल्दै आएको छ । यो त्यति भरपर्दो नहुँदा केन्द्रीय प्रसारण लाइन पुगेसँगै हामीले फोरजी सेवा जडान गरेका छौँ ।
सडक निर्माणका कुरा गर्ने हो भने अहिले नगरपालिकामा मोटामोटी ३ सय किलोमिटर सडक छ । नगरपालिकाको सबै वडामा सडक पु¥याउने योजना अघि सारेका छौँ । भौगोलिक रूपमा सबैभन्दा विकट १ नम्बर वडामा पनि हेलिकोप्टरबाट डोजर ओसारेरै सडक खन्ने तयारीमा छौँ । पहिले सदरमुकामसम्म पुग्नलाई १ दिनभर हिँड्नुपर्ने बाध्यता टरेको छ । मुख्य सडक चिसापानी राडिज्युला सडक पिच हुने प्रक्रियामा छ । मुसीकोट, नदुवा राडी सडक खण्डलाई विस्तारै विस्तार गर्ने योजनामा छौँ ।
नगरबासीलाई स्थानीय सरकार सबैभन्दा नजिकको सरकार भएको महसुस हुने गरी काम गरिरहेका छौँ । स्थानीय सरकार भनेको जनताको सुखदुःखको साथी हो । स्थानीय सरकारले नै नागरिकलाई सरकारको अनूभूति दिलाउने हो । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारलाई धेरै अधिकार दिएको छ । सोहीअनुसार काम गर्ने हो भने हामीले नगरबासीलाई परिवर्तनको अनुभूति दिलाउन सक्छौँ । त्यसमा स्थानीय बासिन्दाको साथ, सहयोग र सहकार्य अपरिहार्य छ ।
हामीले नगरपालिकामा राम्रो काम गरेकैले नागरिक पनि खुसी छन् । कोरोना महामारीमा पनि नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन सफल भएजस्तो लाग्छ । हामी त्यतिबेला प्रत्यक्ष रूपमा जनताको स्वास्थ्यलाई ध्यानमा राखेर खटिएका थियौँ । प्रदेश, संघ सरकारको सहयोगबिनै हामीले १० दिनमै कोरोना अस्पताल निर्माण गरेर ८० जनालाई उपचार दिएका थियौँ । जनप्रतिनिधि जहिले पनि जनताको सेवक हो । सधँै सेवामुखी हुनुपर्छ । जनप्रतिनिधिको प्रमुख दायित्व भनेकै लोककल्याणकारी काम गर्नु हो । तर, अस्वाभाविक ढंगले भत्ता बढाएर लोकप्रिय बन्न खोज्नु गलत काम हो । चुनावी मैदानमा जाँदा जनतालाई दिएका आश्वासन कतिपय पूरा भए पनि कतिपय हुने क्रममा छन् । संघीयताको वास्तविक अनुभूति दिलाउन स्थानीय तहको अहं भूमिका छ । चुनावताका भोट माग्ने बेलामा होस् या सार्वजनिक कार्यक्रममा । आफूले गर्छु भनेका काम, प्रतिबद्धता जसले पनि पूरा गर्नुपर्छ । समृद्ध नगर निर्माणको अवधारणाअनुसार शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, कृषि, सडकलगायत थुप्रै योजना छन् । युवालाई स्वरोजगार बनाउन घरेलु तथा साना उद्योग स्थापनामा जोड दिएका छौँ ।
स्थानीय स्तरमै उत्पादनलाई जोड दिन उद्योग स्थापनाको काम भइरहेको छ । आयआर्जन, आर्थिक स्तर वृद्धिका काम प्रतिबद्धताअनुसार भइरहेका छन् ।
सुशासनयुक्त समृद्ध नगर निर्माणका लागि हामीले समृद्ध गाउँ सहरको रहर, स्वस्थ सफा सुशासनयुक्त न्यायिक र समाजवाद उन्मुख आठबिसकोट नगर नारा अघि सारेका छौँ । स्वस्थ र सफा सहर बनाउने अभियान सुरु गरेका छौँ । यसअन्तर्गत प्रत्येक वडामा स्वास्थ्य कार्यालय निर्माण गरिएको छ । नागरिकको आधारभूत आवश्यकता पूर्तिका लागि कृषिका योजना अगाडि बढेका छन् । आर्थिक, सामाजिक रुपान्तरणका लागि कृषि क्षेत्रलाई बढी जोड दिएका छौँ ।
नगरपालिका सञ्चालनका लागि सबैभन्दा आन्तरिक स्रोतको बढी महत्त्व हुन्छ । आन्तरिक स्रोत भएन भने स्थानीय तहमा विकास हुनै सक्दैन । त्यसका लागि उत्पादनमा जोड दिनुपर्छ । आठबिसकोटको सन्दर्भमा कर्मचारी प्रशासन चुस्तदुरुस्त छ । हामी कार्यक्षेत्रको मूल्यांकन गर्छौं । कहीँकतै गुनासो आएको छैन । स्थानीय तहले आफ्नो गाउँ वा नगर कस्तो बनाउने भन्ने कुरा उनीहरूको कार्यसम्पादन क्षमता र उपलब्धिले निर्धारण गर्छ । संवैधानिक रूपमा स्थानीय सरकार भइसकेकाले हामी नगरबासीसँगै अगाडि बढेका छौँ ।
पालिका खबर डट कमबाट साभार