रोल्पाको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रले चासो देखाएको छ । जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र जलजलाका लागि हेलिकप्टर सेवा सुरु गरेसँगै निजी क्षेत्रको पर्यटन प्रवद्र्धनमा चासो बढेको हो । हाल सदरमुकाम लिवाङबाट जलजलाका लागि हेलिकप्टर सेवा व्यवस्था गरिएको छ ।

सुनछहरी गाउँपालिका–७ जेलवाङमा रहेको गेमी होमस्टे र पोखरास्थित फिस्टेल एयरको साझेदारीमा हेलिकप्टर उडान सुरु गरिएका छ । फिस्टेल एयरको नाइन् एन–एजेआर हेलिकप्टरका पाइलट क्याप्टेल र जलजला घुम्न जाने पहिलो उडानका यात्रुहरूलाई रोल्पा नगरपालिकाका नगर प्रमुख केसी र उपप्रमुख मनकुमारी घर्तीमगरले फूलमाला पहराएर उडानको शुभारम्भ गर्नुभएको थियो । यात्राको पहिलो दिन शनिबार ५ उडानका लागि २५ जनाले अग्रिम टिकट बुकिङ गरेको गेमी होमस्टेका अध्यक्ष तथा गाइडर बालकुमार पुन पृथ्वीले जानकारी दिनुभयो । रोल्पाको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको पुनले बताउनुभयो । रोल्पाका थुप्रै पर्यटनस्थल भए पनि ओझेलमा परेकाले यसको प्रवद्र्धनमा निरन्तर दिनेसमेत उहाँले बताउनुभयो । लिवाङ–जलजलाको लागि हेलिकप्टर भाडाप्रति व्यक्ति रु १८ हजार ५०० तोकिएको छ । जलजला पुग्न सडकयात्रा कठिन भएकाले पर्यटकको मागअनुसार हेलिकप्टर उडान सुरु गरेको पुनको भनाइ छ । हाल जलजला क्षेत्रमा हिउँ परेकाले पनि पैदल वा सडक यात्रा झन कठिन हुने गरेको छ । जलजला थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सिमानामा पर्छ । प्राकृतिक रूपमा निकै मनमोहक रहेको जलजला धार्मिक रूपमा पनि प्रसिद्ध छ ।

जलजलालाई माओवादीले द्वन्द्वकालमा महत्वपूर्ण प्रतीक मान्दै आएका छन् । जलजलाको नामबाट विभिन्न अभियान पनि चलेकाले जलजलालाई युद्ध पर्यटनको रुपमा पनि हेरिन्छ । विद्रोही गाउँ थवाङ जलजला नजिक पर्दछ । यहाँ वैशाख, जेठ र साउने पूर्णिमा मेला लाग्ने गर्दछ । जलजलामा कैलु बराह, बज्यु बराह, सतदेव बराह र बाह्र भाइ बराह जस्ता देवताको पूजा गर्ने गरिन्छ । हेलिकप्टरबाट जलजला भ्रमण गरी फर्किएका स्थानीयवासी व्यवसायी रमेश अधिकारीले आफूहरू मनमोहक दृश्यमा हिउँसँगै सुन्दर वातावरणमा रमाएर आएको बताउनुभयो । निजी क्षेत्रले प्रशसनीय प्रयास गरेको उल्लेख गर्दै जलजला भ्रमण गर्ने लामो समयदेखिको इच्छा पूरा भएको अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !