
पोखरा महानगरमा गठबन्धनबाट मेयरका प्रत्याशी एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाएका छन् । सोमबार दिउँसो साढे ४ बजेसम्म उनले एमालेका कृष्णबहादुर थापालाई ४ सय ९६ मतले पछि पारेका हुन् । १२ हजार ९७ मत गणना गर्दा आचार्यले ४ हजार ८ सय ४८ र थापाले ४ हजार ३ सय ५२ मत ल्याएका छन् ।
उपप्रमुखमा पनि गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले अग्रता लिएकी छन् । उनले ५५ मतको अन्तरले एमालेकी मञ्जुदेवी गुरुङलाई पछि पारेकी छन् । रानाभाटले ४ हजार ९ सय ९३ मत ल्याउँदा गुरुङले ४ हजार ९ सय ३८ मतले पछ्याइरहेकी छन् ।
हालसम्म पोखरा-१ मा एमालेका सहारा प्रधान, २ मा कांग्रेसका दिवसमान प्रधानाङ्ग र १२ मा कांग्रेसकै सन्तोष बास्तोला अध्यक्षमा निर्वाचित भइसकेका छन् । वडा नम्बर १ र २ मा मेयरमा धनराजले अग्रता लिएका थिए भने १२ मा थापाको अग्रता थियो ।
हाल वडा नम्बर ३, ४, १३, २३, २४ र २५ को मत गणना भइरहेको छ । वडा नम्बर ३ मा ६०० मत गन्दा धनराजको २२० र थापाको १५४, वडा नम्बर ४ मा ३०० मत गन्दा धनराजको १५० र थापाको ७४, वडा नम्बर २३ मा २००३ मत गणना गर्दा धनराजको ९३२ र थापाको ८०२ मत छ । यी तीनवटै वडा यसअघि ०७४ मा कांग्रेसले जितेका वडा हुन् ।