गोरखाको पालुङटार नगरपालिकाको मेयर, उपमेयरमा माओवादी केन्द्रका उमेदवार विजयी भएका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार नवनिर्वाचित मेयर विवश चिन्तन ६ हजार ७२ मत प्राप्त गर्दै निर्वाचित बने ।
उपमेयरमा बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मत प्राप्त गर्दै विजयी भइन् । पालुङटार जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने उनको गृहपालिकासमेत हो । चिन्तनका प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत ल्याए ।
उपमेयरको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाइन् । पालुङटारमा जसपा र एमालेबीच मेयर, उपमेयरमा एकले अर्कालाई सघाउने गरी चुनावको अन्तिम समयमा तालमेल भएको थियो । चुनावअघि कांग्रेसले मेयरमा जसपा उमेदवारलाई सघाउन निर्देशन दिए पनि स्थानीय असन्तुष्टिका कारण कांग्रेस, जसपाबीचको गठबन्धन सफल हुन सकेन ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पालुङटारको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी भएको थियो । निवर्तमान मेयर दिपकबाबु कडेंल यस पटक ४ हजार ९ सय ९७ मत प्राप्त गरी तेस्रो भएका छन् । उनी कांग्रेस तर्फका उम्मेदवार हुन् । एमालेबाट उपप्रमुख उम्मेदवार पार्वती पाठकले ४ हजार २ सय ८१ मत ल्याएकी छन् ।