
काठमाडौं महानगरपालिका-३२ को अध्यक्षमा नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् । पराजुली तेस्रो पटक वडाध्यक्ष बनेका हुन् । वडाध्यक्षसहित एमालेले महिला सदस्य, दलित महिला सदस्य तथा सदस्य पनि जितेको छ ।
काठमाडौं महानगरको जारी मतगणनामा वडा नं. ३२ को परिणामअनुसार पराजुली ५ हजार २ सय २५ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३ हजार १०८ मत पाइन् । पराजुलीले नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेललाई पराजित गरे । उनी ०५४ मा पनि वडाध्यक्ष भएका थिए । ०७४ को निर्वाचनमा पनि उनी नेकपा एमालेबाटै उम्मेदवार बनेर निर्वाचित भएका थिए ।
महिला सदस्यमा हिरादेवी पोखरेल ५४ सय ८९ मत, दलित महिला सदस्यमा सिता विशुंखे ५२ सय ३५ मत तथा सदस्यमा भगवान बुढाथोकी ४४ सय ७१ र हरिबहादुर बस्नेत ४३१८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवाससमेत रहेको यो वडामा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन थियो । तर, अध्यक्ष नेपालकै वडामा उनको उम्मेदवार पराजित भएकी छन् । कांग्रेसका तर्फबाट सुरुमा उम्मेदवारी परे पनि नाम फिर्ता लिने अन्तिम दिन सभापति शेरबहादुर देउवाले नै पत्र पठाएर उनको मनोनयन फिर्ता लिएका थिए भने माओवादीका उम्मेदवार राम भारतीले अन्तिम समयमा कँडेललाई समर्थन दिएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद गजुरेलले ११६२, नेकपा माओवादी केन्द्रका राम भारतीले ११९ र विवेकशील साझा पार्टीका रवि रिमालले १५४ मत पाएका छन् ।