अहिले सबैको टाउको दुखाइको विषय हो, बढ्दो महँगी । तर, पछिल्ला दिनमा महँगी मात्रै बढेको छैन, बढेको मूल्यमा मालसामानका ‘प्याकेट’ हरू खुम्चिन थालेका छन् । यसको सुरुवात नेपालको सबैभन्दा बढी रुचाइने चाउचाउ ब्रान्ड ‘वाइवाइ’बाट भएको छ ।

वाइवाइले पछिल्ला केही हप्तामै लगातार दुई पटक मूल्य बढाएको र एक पटक १० ग्राम तौल घटाएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

सार्वजनिक रुपमा वाइवाइले मूल्य बढाएको जानकारी दिएको छैन । तर, प्याकटेमा मूल्य बढ्ने र तौल घट्ने एकसाथ भएर आएकाले धेरै ग्राहकले आश्चर्य प्रकट गरेका छन् ।

‘बजारमा धेरै विक्री हुने ७५ ग्रामको वाइवाइ चिकेन र भेज स्वादको चाउचाउको मूल्य जेठ तेस्रो सातासम्म २० रुपैयाँ थियो,’ खुद्रा व्यापार संघका एक सदस्य भन्छन्, ‘अहिले उक्त चाउचाउको मूल्य २३ रुपैयाँ पुगेको छ भने तौल कहिले ६५ ग्राममा झरेको छ ।’  ब्यापारीहरूका अनुसार झन्डै ५ महिना अगाडी ७५ ग्राम ताैल घटाएर ६५ ग्राम बनाइएको थियो ।

अझ रोचक त के छ भने ‘वाइवाइ’ले प्याकेटमा तौल ६० ग्राम मात्र तौल तोकेको छ । स्ट्यान्डर्ड नाप र तौल नियमावली २०७६ चाउचाउको प्याकेजिङ ७५ ग्रामबाट घटाउने हो भने ६० ग्राम कायम गर्नुपर्छ । तर, वाइवाइले चतुरतापूर्वक ५ ग्रामलाई ‘फ्रि’ ट्याग हालेको छ । अर्थात् अब वाइवाइले सित्तैमा दिइरहेको ५ ग्राम पनि जुनसुकै बेला घट्न सक्छ ।

वाइवाइले २० जेठपछि वाइवाइ चिकेन र भेजको मूल्य क्रमशः २० बाट २२ र १५ बाट २० रुपैयाँ पुर्‍याएको थियो । तर, साउन लागेपछि चिकेन स्वादको मूल्य पुनः २२ रुपैयाँबाट बढाएर २३ रुपैयाँ पुर्‍याएको हो ।

प्याकेटमा बढेको मूल्यसँगै वाइवाइले कार्टुनको पनि मूल्य बढाएको छ । खुद्रा व्यापार संघकाअनुसार यसअघि एक कार्टुन वाइवाइ चिकेन चाउचाको मूल्य ५४० रुपैयाँ थियो । अब यस्तो चाउचाउको मूल्य प्रति कार्टुनको ५९५ रुपैयाँ पुगेको छ ।

वाइवाइले चिकेन पिज्जा र क्विक्सलाई २० रुपैयाँ र वाइवाइ जम्बोलाई २५ रुपैयाँ प्रतिगोटामा  विक्री गरिरहेको छ ।

‘वाइवाइले नै मूल्य बढाएर तौल घटायो भनेपछि अब बजारमा यो ट्रेन्ड नै मौलाउँछ,’ नापतौल विभागका एक अधिकारी भन्छन्,’चुनाव लागेको छ, दलहरुलाई दिने चन्दा जोहो गर्ने सजिलो बाटो यही हो ।’

 

प्रतिक्रिया दिनुहोस !