दसैँ नजिकिएसँगै बजारमा नगदको माग उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनामा मात्रै बजारमा करिब ६३ अर्ब रुपैयाँ बराबरको थप नगद प्रवाह भएको छ। भदौ मसान्तसम्म बजारमा ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेकोमा बुधबारसम्म यो रकम बढेर ८ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको हो। चाडपर्वका बेला किनमेल, दक्षिणा, यात्रा तथा दैनिक उपभोगमा खर्च बढ्ने भएकाले नगदको माग उच्च हुने गर्छ। डिजिटल भुक्तानीको प्रयोग बढ्दै गए पनि दसैँजस्ता ठूला चाडपर्वमा नगदको आवश्यकता अझै उच्च देखिएको छ। यस अवधिमा सर्वसाधारणले नेपाल राष्ट्र बैंक तथा विभिन्न वाणिज्य बैंकमार्फत करिब १३ अर्ब रुपैयाँ बराबरका नयाँ तथा सफा नोट सटही गरेका छन्। त्यसमध्ये करिब ३ अर्ब रुपैयाँ बराबरका नोट राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय तथा प्रादेशिक कार्यालयहरूबाट सटही भएका छन् भने वाणिज्य बैंकहरूले ग्राहकलाई नोट सटही सुविधा उपलब्ध गराउन राष्ट्र बैंकबाट करिब १० अर्ब रुपैयाँ बराबरका नोट लगेका छन्। राष्ट्र बैंकले असोज १ गतेदेखि ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सफा नोट सटही गर्ने व्यवस्था सुरु गरेको थियो। दसैँका मुख्य दिन नजिकिँदै जाँदा बजारमा नगदको माग अझै बढ्न सक्ने राष्ट्र बैंकका अधिकारीहरूले अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस !