बडादसैँको नवरात्रअन्तर्गत आज चौथो दिन नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल चतुर्थीका दिन दसैँघर तथा पूजाकोठामा विधिपूर्वक कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा रहेको छ ।

घटस्थापनादेखि सुरु हुने नवरात्रमा नौ दुर्गाका विभिन्न स्वरूपको क्रमशः पूजा गरिन्छ । यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढ्ने गर्छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी र इन्द्रायणी मन्दिरमा भक्तजनले पूजाआजा गरी देवीको दर्शन गर्ने गर्छन् । उपत्यकाबाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी र डोटीको शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्ने परम्परा छ ।नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती अर्थात् चण्डी, श्रीमद्देवीभागवत तथा अन्य देवी स्तोत्र पाठ गर्ने चलन छ । धार्मिक मान्यताअनुसार यस अवधिमा श्रद्धापूर्वक देवीको पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरिन्छ । यही आस्थाका साथ वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष उपासना गर्छन् ।नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । देवीका यी नौ स्वरूपलाई नवदुर्गाका रूपमा आराधना गर्ने परम्परा छ ।

दसैँको उल्लास बढेसँगै काठमाडौं उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा र नरदेवीलगायत मन्दिरलाई रङ्गीचङ्गी बत्तीले सजाइएको छ । नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्ति स्थापना गरिएको र धार्मिक विश्वासअनुसार यी देवीलाई दिदीबहिनीका रूपमा मान्ने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस !