गण्डकी प्रदेशसभा बाहिरबाट चिटिक्क देखे पनि भौतिक पूर्वाधारको कमी छ । विषयगत समितिका कार्यालय ‘प्रि–फ्याव’ भवनमा छन् । संसदीय दलका लागि कार्यालयको समस्या छ ।
संरचना अपुग हुँदा प्रदेशसभा सचिवालयको प्रशासनिक कामसमेत अन्य कार्यालयबाट सञ्चालन गर्नुपर्ने स्थिति छ । कर्मचारी र सुरक्षाकर्मीका लागि आवासको उचित प्रबन्ध हुनसकेको छैन । सञ्चारकर्मीका लागि मिडियाकक्ष छैन । प्रतिक्षाकक्ष, चमेनागृहजस्ता भौतिक पूर्वाधार व्यवस्थित छैनन् ।
आधुनिक सुविधायुक्त प्रदेशसभा भवन निर्माणका लागि बनाइएको रु डेढ अर्बको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अलपत्र परेको छ । बजेट नभएपछि भवन निर्माण अघि बढेन ।
सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा भवनमा भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताउनुभयो । “बैठककक्षमा खुट्टा छिराउ नै धौधौ पर्ने टेबुल, कुर्ची छन्”, उहाँले भन्नुभयो, “साउण्ड सिस्टमको पनि समस्या छ ।” भवन साँघुरो भएकाले बैठक सञ्चालनलगायतका काममा कठिनाइ उत्पन्न हुने गरेको सभामुख धितालले बताउनुभयो ।
सञ्चारकर्मी र बैठक अवलोकनकर्ताहरूको बसाइका लागि पनि सानो क्षेत्र तोकिएको छ । पत्रकारलाई बैठकको तस्वीर र दृश्य लिन पनि कठिन छ । आल्मुनियमले बारमाथिबाट जनेतेन तस्वीर खिच्नुपर्ने स्थिति छ । सचिवालयका कर्मचारी र मर्यादापालकका लागि पनि कार्यस्थल साँघुरो छ ।
भौतिक संरचनामात्रै नभएर प्रदेशसभामा अन्य स्रोत साधनको पनि कमी देखिएको छ । दक्ष र विषयगत कर्मचारीको अभाव रहेको सचिवालयले जनाएको छ । प्रदेशसभाको आफ्नै सेवा समूहको व्यवस्था नभएकाले कर्मचारीको सरुवा–बढुवा हुँदा कार्यसञ्चालनमा समस्या निम्तने गरेको छ ।
सचिवालयको कार्यबोझ बढी भए पनि कर्मचारीलाई प्रोत्साहन दिन नसकिएको जनाइएको छ । कर्मचारीको समयसापेक्ष सीप र क्षमता विकास गर्नुपर्ने खाँचो छ । प्रदेशसभाको भौतिक पूर्वाधार निर्माणसहित दैनिक कार्यसञ्चालनका लागि सरकारले पर्याप्त बजेट दिनसकेको छैन ।