पर्यटकीय गन्तव्य चितवनको सौराहा जंगल सफारीका लागि चर्चित छ। जंगलमा सफारी गर्दै जंगली जनावर हेर्न त्यहाँ पुगेका जोसुकै पर्यटकको चाहना हुन्छ। त्यही अनुसार त्यहाँ पूर्वाधार पनि तयार छन्। अब भने चितवनको आकाशमा मनोरञ्जनात्मक हवाई गतिविधि पनि गर्न पाइने भएको छ। चितवनमा नयाँ पर्यटकीय प्रडक्टको रूपमा प्याराग्लाइडिङ थपिएको छ।  बैशाखबाट व्यावसायिक उडान गर्ने गरी हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीले पर्यटन विभागबाट अनुमति लिइसकेको छ । चौकीडाँडामा रिसोर्ट र प्याराग्लाडिङ्गका लागि ७० करोड खर्च लाग्ने अनुमान छ ।

कम्पनीका अध्यक्ष विजय घलेले चितवनमा जंगल सफारी पर्यटनको साथसाथै अब साहसिक पर्यटनको अर्को ‘आइटम’का रुपमा रहेको प्याराग्लाइडिङ थप हुने बताए । चितवनमा प्याराग्लाइडिङ गर्न अनुमति पाउने यो पहिलो कम्पनी हो ।

प्याराग्लाइडिङ र रिसोर्टका लागि चौकीडाँडामा ५ विगाहा जग्गा कम्पनीले लिइसकेको छ । मुग्लिन–नारायणगढ सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुगिन्छ । चौकीडाँडा १२ सय मिटरको उचाइमा छ भने कविलास ५८० मिटरको उचाइमा छ ।

कम्पनीले प्याराग्लाइडिङका लागि १.८५ नटिकल माइल वरपर उडान गर्ने अनुमति पाएको कम्पनीका अध्यक्ष घलेले बताए । ‘सिधै माथि ५ हजार मिटरसम्म जान पाइनेछ । फटाफट उडेर त्रिशूलीमा झर्दा चौकीडाँडाबाट २० मिनेट लाग्नेछ,’ उनले भने । तत्काललाई १० वटा पाइलट राखेर उडान गरिने उनले जानकारी दिए । त्यसका लागि आवश्यक भौतिक पूर्वाधारको काम भैरहेको छ ।

प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गराउने योजना छ । त्यहाँ २० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिइएको छ । अवतरण हुने ठाउँमा त्रिशूली नदीमा वाटर एक्टिभिटिज गराउने, र्‍याफ्टिङ्ग, डेजर्ट सफारी जस्ता क्रियाकलाप गर्ने योजना कम्पनीले बनाएको बोर्ड डाइरेक्टर शालिक दवाडीले जानकारी दिए ।

‘पर्यटन क्षेत्रमा प्याराग्लाइडिङको निकै सम्भावना बोकेको गन्तव्यको रूपमा चौकीडाँडा रहेछ। मुग्लिन–नारायणगढ राजमार्ग र त्रिशुली नदीको नागबेली स्वरूप आकाशबाट नियाल्दा उड्न पाइन्छ,’ रावतले भने, ‘तराईको समथरदेखि पहाडी डाँडाकाँडा, जंगल अवलोकन गर्न पाइने भएकाले निकै आकर्षक गन्तव्यको रूपमा पहिचान भएको छ।’ त्यत्तिमात्र नभई चौकीडाँडाबाट लम्जुङ हिमाल लगायतका हिमाली शृंखला पनि अवलोकन गर्न पाइने उनले बताए। ‘तराइ, पहाड र हिमाल देख्न पाइने भएकाले आकर्षक ठाउँ छ,’ उनले भने, ‘तराई र पहाडको संगमस्थल पनि हो। जसले गर्दा फरकफरक दृष्य आकाशबाट नियाल्न पाइन्छ।’

प्रतिक्रिया दिनुहोस !