तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि मिति घोषणा गरिएसँगै राजनीतिक चहलपहल सुरु भएको छ । निर्वाचन आयोगले तनहुँ-१ मा आगामी वैशाख १० गते उपनिर्वाचन घोषणा गरेसँगै राजनीतिक चहलपहल सुरु भएको हो ।
क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त भएको यो क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो । रिक्त हुने प्रतिनिधिसभा सदस्य पदमा नेपालको संविधानको धारा, ८४ को उपदफा (७) बमोजिम प्रतिनिधिसभा कार्यकाल छ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाबाट पूर्ति गरिने व्यवस्था रहेबमोजिम यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।
तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त भएको छ।
यसैगरी बारा २ बाट निर्वाचित जसपाका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्र रिक्त भएको थियो। बारा २ मा गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने सम्भावना छ।
यस्तै नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)अध्यक्ष रवि लामिछानेको पद बदर गरेपछि उनी निर्वाचित चितवन २ मा सांसद पद रिक्त भएको थियो।
रिक्त यी क्षेत्रमा एकैपटक निर्वाचन गर्ने तयारी आयोगले गरेको छ।