भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले बुधबार चक्रवातबाट पाँच जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
चक्रवातका कारण रुख, पर्खाल र विद्युत्का पोल ढल्दा तथा करेन्ट लाग्दा उनीहरूको मृत्यु भएको बताइएको छ । जोखिम बढेपछि प्रभावित क्षेत्रका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गरिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालय, कलेजलगायत शैक्षिक संस्था पनि केही दिनका लागि बन्द गरिएका छन् । चक्रवातका कारण हवाई यातायातसमेत प्रभावित भएको छ । आन्ध्र प्रदेशका दुई विमानस्थलबाट हुने ३५ भन्दा बढी उडान रद्द गर्नुका साथै केही उडानलाई अन्यत्र डाइभर्ट गरिएको छ । प्रतिघण्टा १३० किलोमिटरसम्मको वेगमा आएको चक्रवात बुधबार बिहान भारतको दक्षिणपूर्वी तथा पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेको थियो ।आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा ठूलो प्रभाव पारेको चक्रवात त्यसपछि ओडिशा, झारखण्ड, छत्तीसगढ र पश्चिम बङ्गालतर्फ अघि बढेको जनाइएको छ ।
मुख्यमन्त्री नायडूका अनुसार चक्रवातले करिब ७१ हजार हेक्टर क्षेत्रफलमा लगाइएको नरिवल, केरा लगायतका बालीमा क्षति पुर्याएको छ । प्रभावितमध्ये केही क्षेत्रमा पूर्ण र केहीमा आंशिक क्षति भएको छ । चक्रवातबाट प्रभावित करिब ५७ हजार मानिसलाई सुरक्षित स्थानमा सारेर राहत शिविरमा राखिएको छ । सरकारी अधिकारीहरूका अनुसार चक्रवातका कारण करिब १८० घरमा समेत क्षति पुगेको छ ।










