वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले एक महिनामै २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व उठाएको हो । असोजका लागि कार्यालयले २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यसअनुसार लक्ष्यभन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोजमा इन्धन आयातबाट मात्रै २ अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासको आयातबाट १ अर्ब ८० करोड रुपैयाँ, अलकत्रा अर्थात् बिटुमिन आयातबाट १ अर्ब ४० करोड रुपैयाँ तथा स्याउ र नास्पाति आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोजसम्म कुल ७० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर, उक्त अवधिमा ६९ अर्ब १३ करोड रुपैयाँ मात्रै संकलन भएको छ । यसअनुसार असोज महिनाको राजस्व लक्ष्य पूरा भए पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनाको समग्र लक्ष्य भने हासिल हुन सकेको छैन । चाडपर्वका बेला आयात बढ्नुका साथै इन्धन, एलपी ग्यास, बिटुमिन र फलफूलको आयातबाट उल्लेख्य राजस्व संकलन हुनुले असोजको मासिक लक्ष्य हासिल गर्न सहयोग पुगेको भन्सार कार्यालयले जनाएको छ ।










