जनकपुरधाम र भारतको अयोध्याबीच सिधा रेल सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रूपमा उक्त रेल सेवाको शुभारम्भ गर्ने योजना बनाइएको छ ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । उनका अनुसार दुवै देशका रेल्वे कम्पनी, भन्सार र सुरक्षा निकायका अधिकारीबीच यस विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री शाह मङ्सिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारीमा छन् ।

रामायण सर्किटसँग जोडेर सञ्चालन गर्न लागिएको यस रेल सेवाको सुरक्षा व्यवस्थाबारे पनि दुवै देशबीच सहमति जुटेको छ । नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु तथा रेलको सुरक्षा गर्ने सैद्धान्तिक सहमति भएको हो । यसअघि दुवै देशका अधिकारीले जयनगर–जनकपुरधाम–कुर्था रेलमार्गको निरीक्षण गरेका थिए ।

जनकपुरधाम र अयोध्याबीच रेल सम्पर्क स्थापित भएपछि दुवै क्षेत्रका धार्मिक पर्यटकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । यसले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्नुका साथै पर्यटन र स्थानीय व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

अहिले जयनगरबाट जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !