आर्थिक वर्ष २०७९र८० मा सदर चिडियाखानाले १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष भने १७ करोड ७५ लाख ७१ हजार आम्दानी गरेको चिडियाखानाले जानाएको छ । अवलोकनकर्ताले प्रवेश शुल्कस्वरूप तिरेको रकम नै यहाँको मुख्य आम्दानीको स्रोत हो ।
यो आम्दानी अघिल्लो आर्थिक वर्षको भन्दा तीन करोड बढी हो । गत आर्थिक वर्षका लागि २० करोडको लक्ष्य लिएको चिडियाखानाले लक्ष्यभन्दा तीन करोड कम आम्दानी गरेको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्षमा आठ लाख ४३ हजार छ सय ३० ले चिडियाखानाको अवलोकन गर्दा १४ करोड १८ लाख ४२ हजार आम्दानी भएको थियो ।
विगतका तीन वर्षमा कोरोनाका कारण अवलोकनकर्तामा कमी आएकाले आम्दानी कम भएको थियो । गत आवमा उलेख्यरूपमा अवलोकनकर्ता आएकाले आम्दानी बढेको सूचना अधिकारी कोइरालाको भनाइ छ ।
कोरोनाको त्रास हटेसँगै दैनिक तीन हजार अवलोकनकर्ता आउने गरेका छन् ।
अवलोकनकर्ता बढेकाले विगत वर्षमा भन्दा यस वर्ष बढी आम्दानी भएको हो ।
अवलोकन गर्न विदेशीका लागि सात सय ५०, सार्क देशका लागि पाँच सय, नेपालीलाई दुई सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिएको छ ।
अवलोकनबाट उठ्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलबभत्ता र जीव, जनावरलाई खाना खुवाउनेलगायत व्यवस्थापनको काम गर्दै आएको छ ।
चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीव, जनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे हुन् ।
यहाँ रहेका जीव जनावर तथा पशु पन्छीमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् ।
नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी राखेको छ ।
तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यो चिडियाखाना स्थापना गरेका हुन् ।
विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ ।

 

प्रतिक्रिया दिनुहोस !