महानगर यातायात प्रा.लि   ले काठमाडौंको चक्रपथ मार्गमा थप १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि सञ्चालनमा आएका यी बसहरूसँगै कम्पनीको विद्युतीय सार्वजनिक यातायात सेवा विस्तार भएको हो।

नयाँ बसहरू ३३ सिट क्षमताका भए पनि उभिएर यात्रा गर्ने यात्रुहरूलाई समेत सहज हुने गरी डिजाइन गरिएको छ र एकै पटक करिब ७० जना यात्रुले यात्रा गर्न सक्ने बताइएको छ। चीनबाट आयात गरिएका यी बसहरूमा  को १४४ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटक पूर्ण चार्जमा करिब २०० किलोमिटर दूरी तय गर्न सक्छ। प्रत्येक बसको बजार मूल्य करिब १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको जनाइएको छ।

महानगर यातायात प्रा.लि ले यसअघि गत वर्ष १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याइसकेको थियो। नयाँ बस थपिएसँगै कम्पनीले चक्रपथभित्रको सेवा अझ विस्तार गरेको छ भने चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म पनि सेवा सञ्चालन गर्दै आएको छ।

कम्पनीका प्रतिनिधिहरूका अनुसार विद्युतीय बस सञ्चालन लागत कम हुनुका साथै प्राविधिक रूपमा सहज भएकाले यो सेवा दीर्घकालीन रूपमा लाभदायक देखिएको छ। व्यवसायीहरूले सरकारी नीतिमा विद्युतीय सवारी साधनका लागि थप सहुलियत आवश्यक रहेको सुझाव पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस !