काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ले उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूविरुद्ध निगरानी कडा बनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै २ हजार ५५ सवारी चालक कारबाहीमा परेका छन् भने त्यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ८३ जना चालक पक्राउ परेका छन्। त्यसैगरी नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १९२ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १०९ जना तथा अत्यधिक गतिमा सवारी चलाउने १०२ जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै लेन अनुशासन उल्लङ्घन गर्ने १४६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०३ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने ११२ जना र एकतर्फी सडकमा सवारी चलाउने ८५ जना पनि कारबाहीमा परेका छन्। यसबाहेक अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १२३ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय उपत्यकामा दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन चेकिङ र निगरानी थप कडा बनाइएको छ। ट्राफिक प्रहरीले चालकहरूलाई नियम पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।










