मुस्लिम समुदायको दोस्रो महान् धार्मिक पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा, उत्साह र धार्मिक विधिअनुसार मनाइँदैछ। पर्वका अवसरमा मुस्लिम धर्मावलम्बी बिहानै मस्जिद तथा इदगाहमा भेला भई सामूहिक नमाज अदा गर्दै एकअर्कामा शुभकामना आदानप्रदान गरेका छन्।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ।
नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशका विभिन्न मस्जिद तथा इदगाह क्षेत्रमा बिहानैदेखि श्रद्धालुको उल्लेख्य उपस्थिति देखिएको छ। सरकारले पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। यसका कारण आज सेयर बजार, बीमा कम्पनी, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।
इस्लाम धर्मावलम्बीका अनुसार बकर इद त्याग, विश्वास र समर्पणको प्रतीकका रूपमा मनाइन्छ। धार्मिक मान्यताअनुसार अल्लाहको आदेश पालना गर्दै इब्राहिम आफ्ना प्रिय पुत्र इस्माइल लाई कुर्बानी दिन तयार भएका थिए। इब्राहिमको आस्था र निष्ठाबाट प्रसन्न भई अल्लाहले मानवको सट्टा दुम्बाको कुर्बानी स्वीकार गरेको विश्वास मुस्लिम समुदायमा रहिआएको छ।
यही घटनाको सम्झनामा मुस्लिम समुदायले बकर इदका अवसरमा जायज जनावरको कुर्बानी दिने परम्परा निर्वाह गर्दै आएका छन्। मुस्लिम समुदायले बकर इद तीन दिनसम्म मनाउने गर्छन्। यस अवधिभर धार्मिक विधिअनुसार नमाज, कुर्बानी तथा सामाजिक भेटघाटका कार्यक्रम सञ्चालन हुने गर्छन्।










