इजरायलबाट स्वदेश फर्किन थप २ सय जना नेपालीले आफ्नो विवरण टिपाएका छन् । इजरायल–प्यालेस्टाइन युद्ध सुरु भएसँगै तेल अबिबस्थित नेपाली दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।
सोही क्रममा थप २ सय नेपालीले घर फर्किन अनलाइनमार्फतविवरण टिपाएको दूतावासले जानकारी दिएको हो । दुतावासका अनुसार अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको छ । सरकारले इजरायलबाट नेपाल फर्किन चाहाने सबैलाई ल्याउने प्रक्रिया सुरु गरेको छ ।
शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याइएको छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।