
मौसममा सुधार आएसँगै दोलखाको प्रसिद्ध धार्मिक एबम् पर्यटकीयस्थल कालिञ्चोक क्षेत्रको भ्रमणमा आउने पर्यटकको संख्यामा बृद्धि भएको छ ।
मौसममा सुधार आउनुका साथै चाडपर्वको अवसर पारेर कालिञ्चोक भ्रमण गर्ने पर्यटकको संख्या बढ्दै गएको हो । कालिञ्चोक मन्दिरको दर्शन गर्ने दर्शनार्थी र प्रकृतिसँग रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएसँगै स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् । पछिल्लो समय केबलकार चढेर कालिञ्चोक मन्दिरको दर्शन गर्ने दर्शनार्थीको संख्या पनि उत्साहप्रदरुपमा बृद्धि भएको छ । चालु वर्षको साउनदेखि हालसम्मको अवधिमा १४ हजार ५ सय ५० दर्शनार्थीले कालिञ्चोक क्षेत्रको भ्रमण गरेको कालिञ्चोक दर्शन प्रालीले जनाएको छ । चालु वर्षको साउन महिनामा एक हजार ४ सय ५३ जना पर्यटक केबलकार मार्फत कालिञ्चोक मन्दिर पुगेकोमा भदौ महिनामा ३ हजार ३ सय ३ जनाले मन्दिरको दर्शन गरेका छन् । यस्तै, असोज महिनामा यो संख्या बढेर ४ हजार ३१ पुगेको कालिञ्चोक केबलकार दर्शन प्रालिका मेनेजर तिलक दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार बडा दशैंको फुलपातीदेखि पूर्णिमासम्म ८ दिनको अवधिमा ५ हजार ७ सय ६३ जनाले केबलकारमार्फत् कालिञ्चोक मन्दिरको दर्शन गरेका छन् ।
शुक्रवार र सनिवार दुई दिनको अवधिमा २ हजार ९ सय ६८ जना दर्शनार्थी कालिञ्चोक पुगेका छन् । शुक्रवार एक हजार ४ सय ६४ जना र सनिवार एक हजार ५ सय ४ जनाले मन्दिरको दर्शन गरेका हुन् । यतिवेला वर्षा मौसम सकिएर आकाश खुल्ने, दिन घमाइलो हुने र नाङ्गो आँखाले हिमश्रृङखला र मनोरम दृश्यहरु देखिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक भ्रमणकालागि आउने गर्दछन् । सुन्दर दृश्य सहित प्रकृतिसँग लुकामारी गर्नेहरुकालागि यो मौसम उपर्युक्त समय हो । चरिकोटदेखि कालिञ्चोकसम्मको १७ किलो मिटर सडकको अवस्थामा सुधार आउने गरेका कारण पनि यात्रा सहजताका लागि पर्यटकले यहि मौसममा भ्रमणको यात्रा तय गर्ने गरेका छन् । असार, साउन र भदौ महिना पानी परिरहने, बाटो हिलो हुने, मौसम धुम्म हुँदा दृश्यावलोकन गर्न समेत समस्या हुने भएकाले यो समयलाई कालिञ्चोक क्षेत्रको भ्रमणका लागि प्रतिकुल मौसम मानिन्छ ।
असोज महिनादेखि भने मौसम सफा हुने भएकाले पर्यटकको संख्या बढ्ने गर्दछ । रोजगारी र कामको सिलसिलामा देश विदेशमा रहेकाहरु चाडपर्वमा गाउँ फर्किने गरेका कारण पनि यो बेला कालिञ्चोकमा दर्शनार्थीको चाप बढ्ने गरेको छ । कालिञ्चोक दर्शन प्रालीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शिवाकोटीले असोजदेखि मंसिर महिनासम्म प्रकृतिको सुन्दरतासँग रमाउने र पुसदेखि फागुनसम्म हिउँ खेल्दै भगवतीको दर्शन गर्न आउने पर्यटकको संख्या बृद्धि हुने बताउनुभयो । पछिल्ला वर्षहरुमा फागुन र चैत, वैशाख महिनामा पनि हिउँ पर्न थालेपछि हिउँ खेल्न आउने पर्यटकको संख्या बढेको छ । गर्मी मौसममा भने नेपालको मधेश प्रदेशका नागरिक र भारतिय पर्यटक गर्मी छल्न कालिञ्चोक आउने गरेको सिइओ शिवाकोटीले जानकारी दिनुभयो ।
चालु वर्षको तीन महिनाको अवधिमा ९५ जना विदेशी पर्यटकले कालिञ्चोक क्षेत्रको भ्रमण गरेको कालिञ्चोक केवलकार दर्शन प्रालिले जनाएको छ । गत बर्ष १ लाख ४६ हजार ३ सय ४७ जना दर्शनार्थी कालिञ्चोक पुगेका छन् । ती मध्ये १ लाख ४५ हजार ३ सय ११ जना नेपाली र १ हजार ३६ जना विदेशी पर्यटक रहेका छन् । यो तथ्याँक केबलकार चढेर मन्दिर पुग्ने दर्शनार्थीहरुको हो । यसका अलावा चरिकोटदेखि कुरीसम्म सडक यात्रा गरी कुरीवाट पैदल हिडेर कालिञ्चोक मन्दिरको थुम्कीसम्म पुग्नेहरुको सँख्या पनि सोही हाराहारीमा रहेको छ ।
कालिञ्चोक केबलकार मार्फत मन्दिरसम्म आउन जानका लागि सर्वसाधारण नेपाली नागरिकका लागि ६ सय रुपैयाँ शुल्क तोकिएको छ । केवलकारमार्फत् मन्दिर जानका लागि जेष्ठ नागरिक, अशक्त र बिद्यार्थीलाई परिचयपत्रका आधारमा ५०० रुपैयाँ मात्रै शुल्क लिने गरिएको छ । कालिञ्चोक दर्शन प्रालिले ३ देखि ५ वर्षसम्मका वालवालिकालाई ५ सय, नेपाली सर्वसाधारण नागरिकलाई ६ सय, कालिञ्चोकको कुरी आसपासका स्थानीयलाई ५ सय, भारतीय नागरिकलाई ९६० रुपैयाँ र अन्य देशका नागरिकलाई १३ सय रुपैयाँ अर्थात् १० डलर शुल्क लिँदै आएको छ ।