जनकपुरधामलगायत धनुषाको सम्पूर्ण छठ घाट सजाउने तयारी पूरा भएको छ। सोही क्रममा पोखरी नै पोखरीको सहरको रूपमा चिनिने जनकपुरधामका नदी, तलाउ र पोखरीका जलाशयहरू सरसफाइ गरी दुलहीझैँ सजाउने काम भइरहेको छ। छठ पूजाको लागि टेन्ट र पण्डालले पोखरीहरूलाई विशेष रूपले सजाइएको हो।
छठ पर्वमा सबैभन्दा बढी आकर्षणको रूप देखिने जनकपुरको गंगासागर घाटको तयारी अन्तिम चरणमा पुगेको गंगासागर आरती संयोजक एवं मधेस प्रदेश सभा सदस्य रामअशिष यादवले बताए।
प्रदेश सभा सदस्य यादवले यो घाटलाई विशेष रूपमा सजाइने बताए। त्यस्तै विभिन्न स्थानीय युवा क्लब र संस्थाको सक्रियतामा जनकपुरधामका अन्य पोखरी तथा सरोवरलाई समेत सिँगारिने कार्य हुँदै छ।
गंगासागर पोखरीपछि धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर,गोरधोइ पोखरी, नोच्चा पोखरी, रत्न सागर, दशरथ तलाउसहितका पोखरीका डिलमा बाँस र कपडाको प्रयोग गरी छाउनी बनाउने र त्यसमा झिलिमिली बत्ती जोड्ने काम पनि अन्तिम चरणमा पुगेको मित्री भारत साहले बताए।
यो वर्ष गंगासागर पोखरीको डिलमा घाट व्यवस्थित गर्न छठ पूजा समितिले नम्बरिङ पनि गरिदिएको गंगासागर आरती समितिका जगदीश साहले बताए।
पोखरीको चारैतिरका डिलमा करिब चार हजारभन्दा बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउन सक्ने छठ पूजा समितिले बताएको छ।
जनकपुरधाममा व्रतालुहरू राति छठ घाटमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कन्छन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ।
आजदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व कात्तिक शुक्ल सप्तमीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दान दिएपछि सम्पन्न हुनेछ।
चार दिनसम्म मनाइने छठको पहिलो दिन शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन नुहाई धुवाई गरेर अरबा अरबाईन गरिएको छ ।
दोस्रो दिन पञ्चमी शनिबार खरना मनाइन्छ। छठ पर्वको मुख्य दिनका रूपमा लिइने षष्ठीमा व्रतालुहरूले निराहार उपवास बसी पोखरीको डिलमा ठकुवा, भुसुवा, फलफूल सहितका विभिन्न मिष्ठान परिकारले अस्ताउँदो सूर्यलाई अर्घ दान दिने चलन छ।
सप्तमीका दिन भने सोही प्रसाद उदाउँदो सूर्यलाई अर्घ दान गरी छठ पर्व सम्पन्न गर्ने गरिन्छ।