ऐतिहासिक जितगढी किल्ला पुनः निर्माण सकिएको छ। नेपाली सेनाले संरक्षण र पुनः निर्माण सकेपछि शुक्रबार बुटवल उपमहानगरलाई हस्तान्तरण गर्दैछ।

“जितगढी किल्ला हामी मातहत आएपछि संरक्षणका साथै पर्यटकीय गन्तव्य र नेपाल अङ्ग्रेज युद्धको अध्ययन गर्ने थलोका रूपमा विकास गर्नेछौँ,” उपमहानगर प्रमुख खेलराज पाण्डेयले भने, “यहीँ नजिकै युद्ध संग्रहालय निर्माण सम्पन्न भएको छ। त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ।”

किल्ला क्षेत्रमा सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रूपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको गरुड दलका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले जानकारी दिए।

जितगढी किल्लाको ऐतिहासिकता
छरिएर रहेका सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदामध्ये जीतगढी पनि एक हो। गढी बुटवल– १ स्थित तिनाउ खोलाको बायाँ किनारमा अवस्थित छ। समुद्र सतहभन्दा करिब १४८ मिटरको उचाइमा अवस्थित यो गढी पूर्वदेखि पश्चिमतिर फैलिएको छ।

गढीको दक्षिण र पूर्वतिरको भाग मात्र बाँकी छ। चारैतिरबाट गढी घेरिएको अवस्थामा छ। जितगढीमा तत्कालीन अङ्‌ग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन १८७१ वैशाख ७ गते रहेको आधिकारिक मितिलाई नै बुटवल उपमहानगरको ०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवस मनाउने निर्णय गरेको थियो। जितगढीमा १८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ।

जितगढीमा अंग्रेजलाई हराउने कर्णेल उजिरसिंहको पूर्ण कदको सालिक दक्षिणतिर फर्किएर शानका साथ उभिएको छ। युद्धमा बहादुरीका साथ लडेर आफ्नो ज्यान आहुति दिएका १३ वीर योद्धा कर्णेल थापासहित काजी वीरभञ्जन पाँडे, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना मगर, सरदार सुर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शुरवीर बोहरा, हवल्दार रणशुर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ जुठे बस्नेतका सालिक राखिएका छन्। राष्ट्रिय झण्डा फहराइरहेको साथै हरियाली बगैँचा तयार भएको र राष्ट्रधुनसहितको जल फोहोरा तयार भएका छन्।

जितगढी सम्पदाको गुरुयोजना बनाएर काम हुँदा यहाँको स्वरूप नै निक्कै आकर्षक बनेको जितगढीको संरक्षण र प्रचारप्रसारमा क्रियाशील रवीन्द्रगोपाल लाकौल बताए। “जितगढी सम्पदाको कायापलट भएको छ,” उनले भने, “इच्छाशक्ति र दृढता भयो भने काम सफल हुने रहेछ भन्ने उदाहरण जितगढी बनेको छ।”

प्रतिक्रिया दिनुहोस !