नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् ।
२०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु वाह्य पर्यटकहरुले भरिभराउ छन् । सौराहामा घुम्न आउने वाह्य पर्यटकमा चिनियाँ र भारतीय पर्यटकको संख्या उच्च छ ।
अंग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक र वाह्य पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको व्यवसायीको भनाइ छ ।सौराहामा पर्यटन आगमनमा वृद्धि भएपनि व्यवसायीहरुले नयाँ गन्तव्य र वाह्य पर्यटकको बसाई थप गर्न सक्नुपर्ने बताएका छन् ।
पर्यटन व्यवसायीहरुले पर्यटकहरुको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी ५ देखि ७ दिनसम्मको लागि बनाउनुपर्ने माग राखेका छन् ।