राष्ट्रिय सभाका १९ सिटका लागि आज मतदान भैरहेको छ । आयोगका अनुसार १९ सिटका लागि ५१ जनाको उम्मेदवारी छ । एक सिटमा भने राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको र मतदानका लागि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म समय तय भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सबैसँग आयोगले आग्रह गरेको बताए ।
निर्वाचनमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत र नेमकिपा गरी आठ दलबाट ५१ उम्मेदवार मैदानमा छन् । निर्वाचनमा सत्तारूढ दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन् । त्यस्तै, एमाले र राप्रपाले पनि सहकार्यको सहमति गरेका छन् । अन्य दल एक्ला–एक्लै प्रतिस्पर्धामा छन् ।
निर्वाचनमा प्रदेश सभाका पाँच सय ४९ सांसद र एक हजार चार सय ९८ पालिका प्रमुख–उपप्रमुखले मतदान गर्दै छन् । निर्वाचन आयोगले एक प्रदेश सांसदबराबर ५३ र पालिकाको एक जनप्रतिनिधिबराबर १९ मतभार कायम गरेको छ । आयोगको तथ्यांकअनुसार निर्वाचनमा कुल मतभार ५७ हजार पाँच सय ५९ छ । मतभारमा सातै प्रदेशमा सत्तागठबन्धन अगाडि छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । एक प्रदेश सांसदबराबर ५३ मतभार र पालिकाको एक जनप्रतिनिधिको मतभार १९ हुन्छ । यस हिसाबले पाँच सय ५० प्रदेश सांसद र एक हजार पाँच सय ६ पालिका प्रमुख–उपप्रमुखको मतभार ५७ हजार सात सय ६४ हुन आउँछ ।
तर, मृत्यु भएर पद रिक्त भएका तथा निलम्बनका कारण मतदानमा सहभागी हुन नसक्ने एक प्रदेश सांसद र आठ पालिकाका जनप्रतिनिधि छन् । उनीहरूको मतभार घटाउँदा निर्वाचनमा ५७ हजार पाँच सय ५९ मतभार कायम हुने आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता पौडेलका अनुसार कोशीमा १० हजार एक सय ३५, मधेशमा १० हजार सात सय ४४, बागमतीमा १० हजार तीन सय ३३, गण्डकीमा ६ हजार चार सय १०, लुम्बिनीमा आठ हजार सात सय ५३, कर्णालीमा पाँच हजार ८४, सुदूरपश्चिममा ६ हजार एक सय मतभार छ । प्रत्येक प्रदेशमा दुई मतदान केन्द्र गरी १४ मतदान केन्द्र कायम भएका छन् ।
निर्वाचनमा प्रदेश सभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको निर्वाचन चिह्नसहितको र पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको निर्वाचन चिह्न रहेको मतपत्र छ ।
०७४ माघमा निर्वाचित भएर गोलाप्रथाबाट ६ वर्षे कार्यकाल प्राप्त गरेका सांसदको पदावधि सकिन लागेको हो । कोशीमा महिला र अन्य क्लस्टरमा एक–एक, मधेशमा पनि महिला र अन्यमा एक–एक, बागमतीमा महिला, दलित, अल्पसंख्यक र अन्य क्लस्टरमा एक–एक गरी चार, गण्डकीमा महिला, अल्पसंख्यक र अन्यमा एक–एक गरी तीन, लुम्बिनीमा महिला र अन्यमा एक–एक गरी दुई, कर्णालीमा महिला, दलित र अन्यमा एक–एक गरी तीन तथा सुदूरपश्चिममा महिला, अल्पसंख्यक र अन्यमा एक–एक गरी तीन सिटका लागि निर्वाचन हुँदै छ ।
आयोग प्रवक्ता पौडेलका अनुसार आठ दलबाट सातै प्रदेशमा महिला समूहतर्फ १८, दलिततर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० उम्मेदवार छन् ।

 

प्रतिक्रिया दिनुहोस !