दाङमा एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत रोल्पा रुन्टिगढीका प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षका छोरा शुशान्तको हत्या गरेका हुन् । शनिवार मात्रै रोल्पाबाट घोराही आएका श्रीमती र छोरासँग एक होटेलमा बास बसेका पिमलालले गएराति नै उनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार श्रीमती सहित छोराको हत्या गरेपछि पिमलाल आफै प्रहरी कार्यालय पुगेर आफूले हत्या गरेको जानकारी गराएका थिए ।
‘मैले श्रीमती र छोराको हत्या गरेँ भनेर प्रहरी जवान कार्यालयमा भन्न आएको थियो । पछि उसले भनेको होटेलमा गएर हेर्दा श्रीमती टिका र छोरा शुशान्तको शब होटेलको कोठामा फेला पर्यो,’ डिएसपी मल्लले भने ।
उनका अनुसार पीमलालले श्रीमती टिका र छोराको घाँटी सलले कसेर हत्या गरेको देखिएको छ । हत्याको एकिन कारण खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरी जवान पिमलाल प्रहरीको नियन्त्रणमा रहेको र उनिसंग घटना बारे अनुसन्धान भैरहेको डिएसपी मल्लले जानकारी दिए ।