जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको सातौँ जिल्लासभामा पालिका प्रमुखले जिल्लामा देखिएका समस्या समाधानका लागि सबैले समन्वय गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।

पछिल्लो समय वन, राष्ट्रिय निकुञ्ज, राजमार्ग र विद्युत्मा धेरै समस्या आएको भन्दै प्रमुखको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरी छलफल गर्नुपर्ने सभामा जनाइएको थियो । अहिले यी क्षेत्रमा देखिएका समस्या समाधानका लागि महानगर प्रमुखको नेतृत्वमा सबै पालिकाका प्रतिनिधिले प्रधानमन्त्रीलाई जानकारी गराई समस्या समाधानका लागि पहल गर्ने जनाएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न जिल्लासभामा पालिका प्रमुखले समग्र जिल्लाको विकासका लागि सबै पालिकाबीच भगिनी सम्बन्ध स्थापित गरी अघि बढ्नुपर्ने बताएका थिए ।

महानगर प्रमुख रेनु दाहालले अहिलेको मुख्य समस्या दुग्ध उत्पादक किसानको रहेकाले यसलाई समाधान गर्न सबै पालिका मिलेर लाग्नुपर्ने बताइन् । जिल्लामा गरिने अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने भन्दै उहाँले अनुगमनका क्रममा देखिएका कुरा छलफल गरी समस्याको समाधान गर्नुपर्नेमा जोड दिइन् ।

खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाले राष्ट्रिय योजना आयोगमा चितवनका अतिआवश्यक भौतिक योजना निर्माणका लागि बजेट माग गर्न जरुरी रहेको बताए । तीनै तहका सरकारले समन्वय गरी अतिआवश्यक योजना निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

राप्ती नगरपालिका प्रमुख शमशेर लामाले जिल्लाको धारणा एउटै बनाएर अघि बढ्नसके विकास, निर्माणमा सहज हुने बताए । पालिकामा समस्याको चाङ रहेको बताउँदै उहाँले यी समस्या समाधानका लागि सबै पालिकाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अधिकारीले अहिलेको विकासले देशमा रोजगारी सिर्जना, विभेदलाई न्यूनीकरण र वर्गीय सन्तुलन कायम गरिरहेको बताए । दोस्रो जिल्ला समन्वय समिति गठनपछि यो समितिले हालसम्म २२ वटा बैठक बसेको उनले जानकारी दिए ।

ती बैठकले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गा अनधिकृतरुपमा कब्जा गरिएका ठाउँमा सोसम्बन्धी मुद्दाको फिराद दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको, मिर्गौंला पीडितको समस्या समाधानका लागि छलफल गरिएको, इच्छाकामना गाउँपालिकामा १५ श्ययाको अस्पताल निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयललाई सिफारिस गर्नेलगायत काम गरेको अधिकारीको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कल्पना काफ्ले सापकोटा, रत्ननगर नगरपालिका उपप्रमुख यादव पाठकलगायतले आ–आफ्नो भनाइ राखेका थिए

प्रतिक्रिया दिनुहोस !