रक्तदाता अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । नेपालका काभ्रे घर भएका मैनालीले नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको हो । सोमबार बिहान फेसबुकमा ‘अग्नीको बाटोबाट परलोक जान लागेको’ स्ट्याटस लेखेर वेपत्ता भएका मैनालीको शव पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको अमेरिका निवासी पुरुषोत्तम ढकालले जानकारी दिएका छन् ।

परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको पनि उनको भनाइ छ । उनले दुई सय पटकभन्दा बढी रक्तदान गरेर धेरैको जीवन बचाइसकेका छन् । तर, उनी आफैँ भने लामो जीवन बाँचेनन् ।

उनले आत्मदाह गर्नुको कारण पारिवारिक तनाव भएको हुनसक्ने आशंका गरिएको छ । आफ्नो साला र उनको परिवार पनि नर्थ क्यारोलिनामै बस्छन् । उनले स्ट्याटसमा साला र उनकी पत्नीप्रति गुनासो गरेका छन् । उनले परलोक जानका लागि एउटा सेता कार भाडामा लिएको समेत स्टाटसमा उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, यो कारमा को आएको छ ? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरि उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवान्ले साथ दिउँन् ।’

मैनाली सन् २००७/०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन् । उनको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा सानै छन् ।

 

प्रतिक्रिया दिनुहोस !