शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गता प्रतिको सोच, दृष्टिकोण लगायतलाई आधार मानी दृष्टिविहीन विद्यार्थीले छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित गोर्खाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठलाई अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी, आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीका सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित गोर्खाको अमरज्योति जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी समिर गुरुङलाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको हो ।साथै, पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोण सहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने पत्रकार मध्य उज्ज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार अच्युत घिमिरेलाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

अन्तरर्दृष्टि पुरस्कार समितिका सदस्य सरिता लामिछानेले सञ्चालन गरेको कार्यक्रममा पुरस्कृत शिक्षक किशोरकुमार श्रेष्ठले यस पुरस्कारले आफूलाई दृष्टिविहीन विद्यार्थीको शैक्षिक विकासमा अझ बढी मिहिनेतसाथ लाग्न थप जिम्मेवारी बोध गराएको बताए ।
पत्रकार अच्युत घिमिरेले आफ्ना जीवनमा अनेकौं पुरस्कार प्राप्त गरेको भएपनि समाज रुपान्तरण होस् भन्ने अभिप्रायले स्थापित अन्तर्दृष्टि पुरस्कारबाट पुरस्कृत हुन पाउँदा गौरवान्वित महसुस भएको र आगामी दिनमा पत्रकारिताको मध्यमबाट आफुले गर्ने हरेक क्रियाकलापमा अपांगतालाई समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्राचार्य माधवराज देवकोटाको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा प्रमुख अतिथि पालुङ्टार नगरपालिकाका उप–प्रमुख वन्दना पाण्डेले नगरपालिकाको वार्षिक योजनामा अपांगता भएका व्यक्तिको समग्र विकासलाई उच्च प्राथमिकतामा राखी कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाइन् ।

त्यसैगरी अन्तर्दृष्टि पुरस्कार समितिका सदस्य सुनिता थापाले दृष्टिविहीन व्यक्तिका लागि असल शिक्षक र सहयोगी साथीको भूमिका अति महत्वपुर्ण हुने बताइन् । साथै, अन्तर्दृष्टि पुरस्कार समितिका संयोजक होमनाथ अर्यालले पुरस्कार स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै दृष्टिविहीन विध्यर्थिको क्षमतामा शंका गर्नुको सट्टा शिक्षकले समतामूलक शिक्षण विधि र क्रियाकलापको अभ्यास गरी सिकाइ प्रक्रियामा कोहि नछुटुउन भन्नेमा सजक हुनुपर्ने बताए ।

प्रमाणपत्रसहित अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार रु २०,००० , अन्तर्दृष्टि हातेमालो पुरस्कार रु. १०,००० तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार रु. १०,००० रहेको छ ।

अपाङ्गताप्रति समाजमा विद्यमान नकारात्मक, विभेदपूर्ण र पूर्वाग्रही धारणा र सोचमा परिवर्तन ल्याई समता, सहअस्तित्व र सहकार्यसहित सबैको आत्मसम्मान र पहिचान स्वीकार गर्दै सँगसँगै हिँड्न सकियोस् भन्ने हेतुले डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित अन्तर्दृष्टि पुरस्कार हरेक वर्ष वसन्तपञ्चमीका दिन प्रदान गर्ने गरिएको अन्तर्दृष्टि पुरस्कार समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !