युवा उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसायको प्रवद्र्धनका लागि राज्यले स्पष्ट र प्रोत्साहनमुखी नीति लिनुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन् ।
नेपाली युवा उद्यमी फोरम र साउथ एसिया लिडरसिप इन इन्टरप्रेनर्सिपको सहकार्यमा आज आयोजना भएको राष्ट्रिय नीति संवाद कार्यक्रमका वक्ताहरुले नवप्रवर्तन र उद्यमशीलता विकासका लागि ‘स्टार्टअप इकोसिस्टम’ विकास गरिनुपर्ने, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी फन्डलाई स्टार्टअप व्यवसायमा लगानी गर्न प्रोत्साहन गर्ने, नवप्रवर्तन र उद्यमशीलता विकासमा विदेशी लगानी प्रोत्साहन गर्नेलगायतका आवश्यकता औंल्याएका हुन् ।
नीति संवाद कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्यालले सरकारले नवप्रवर्तन र युवा उद्यमशीलताका विकासको नीति लिएको भए पनि त्यसमा केही कानुनी र व्यवहारिक अस्पष्टता रहेको बताए । “नवप्रवर्तन र उद्यमशीलता विकासका लागि सरकारले अहिले वातावरण मात्रै बनाउन खोजिरहेको छ । तर यसलाई कहाँ र कसरी लैजाने भनेर सरकारलाई पनि थाहा छैन”, सचिव अर्यालले भन्नुभयो, “सोह्रौं आवधिक योजना, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, वार्षिक बजेटमा यो विषय महत्वका साथ राखिनेछ । औद्योगिक व्यवसाय ऐनलाई संशोधन गरेर उद्यमशीलता तथा नवप्रवर्तन व्यवसायलाई पनि समेट्नुपर्ने सुझाव आएको छ ।”
उद्यमशीलता के हो र यसलाई मुलुकको अर्थतन्त्रलाई कसरी योगदान गर्छ भनेर तीनवटै तहका सरकारले बुझ्न र त्यस्ता व्यवसायलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनले बताए । नेपालले पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा निकै राम्रो प्रगति गरिरहेको उल्लेख गर्दै सचिव अर्यालले नेपालभित्रै सम्भावना खोज्न पनि युवाहरुलाई आग्रह गरे । युवा उद्यमशीलता तथा नवप्रवर्तन विकासका लागि नीतिगत हस्तक्षेप गर्नुपर्ने तथा यस क्षेत्रमा देखिएका समस्यालाई कानुनको दायरामा ल्याउन आवश्यक रहेको धारणा पनि सचिव अर्यालले राखे ।