फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका छन् । यो सँगै दाहालले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
यसअघि २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका समर्थनमा प्रधानमन्त्री भएपछि उनले पुस २६ गते संसदमा विश्वासको मत लिएका थियो । त्यसबेला प्रतिपक्षमा रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितका सबै दलले उनलाई समर्थन गरेका थिए ।
त्यसपछि राष्ट्रपति चुनावमा प्रधानमन्त्रीले कांग्रेस लगायतका दलसँग गठबन्धन गरेपछि एमाले, रास्वपा र राप्रपाले सरकार छोड्दै समर्थन फिर्ता लिएका थिए । त्यसपछि २०७९ चैत ६ गते प्रचण्डले दोस्रोपटक संसदमा विश्वासको मत लिएका थिए । अहिले फेरि कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ बनाएपछि उनले तेस्रोपटक विश्वासको मत लिन लिन लागेका हुन् ।
हाल प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीको समर्थन छ । प्रतिनिधि सभामा अहिले कायम २७४ सदस्यीयमा बहुमत सिद्ध गर्न १३८ सदस्य आवश्यक पर्छ । ५ दलीय गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । जसमा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !