वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न  ५ समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन् ।

पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र १ सय ६ पुरुष गरी कूल १ सय ४८ ले आरोहण अनुमति लिएको जानकारी दिए ।

हिमाल आरोहणको अनुमति बापत्  हालसम्म १० करोड ५५ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । सगरमाथापछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान ३ आरोही समूहले अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो याममा सगरमाथासहितका हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । वसन्त ऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन् ।

विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा ४ सय ७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यो वर्ष सोही संख्याको हाराहारीमा आरोही आउने विभागको अनुमान रहेको राससले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस !