कृषिमा आधारित उद्योग व्यवसायको विकास र विस्तारमा सहयोग गर्ने उद्देश्यले “एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड” को स्थापना गरिएको छ। कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा जीवन स्तर सुधार हुने भएकाले यसलाई प्राथमिकतामा राखिएको छ। तर, सहि उद्यमीले पूँजी र विशेषज्ञ सेवा पाउन नसकेका कारण धेरै उद्योग व्यवसाय समस्यामा रहेका अवस्थालाई मध्यनजर गर्दै यो फण्ड स्थापना गरिएको हो।

कम्पनीको प्रवर्द्धकमा नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेष्ट फर्मास्युटिकल्स समूह, कृषि उद्यमी शिवजी कलवार समूह तथा बैंक र बीमा विज्ञहरू रहेका छन्। कम्पनीमा सबैभन्दा बढी २३.३३ प्रतिशत लगानी नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटी सोलुसन्स लिमिटेड को रहेको छ।

एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड ५० करोड अधिकृत पूँजी र १० करोड चुक्ता पूँजीसहित २०८२ आषाढमा कम्पनी रजिष्ट्रारमा दर्ता भइसकेको छ। प्राइभेट इक्विटी कारोबारको इजाजतका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्डमा पनि निवेदन पेश गरिएको छ।

पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा रमेश कुमार भट्टराई रहेका छन् भने अन्य सदस्यहरूमा बिजय बहादुर शाह, उमेश लाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह रहेका छन्।

अघिल्ला दिनमा नेपालमा उद्योग व्यवसायलाई प्रायः बैंक कर्जा र स्वपूँजीमा मात्र निर्भर रहनु पर्ने बाध्यता थियो, जसका कारण अत्यधिक ब्याज र किस्ता तिर्न नसक्दा धेरै उद्योग व्यवसाय रुग्ण वा बन्द भएका थिए। एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडले त्यस्ता समस्याग्रस्त कृषि उद्यमीलाई इक्विटी लगानी र विशेषज्ञ सेवा प्रदान गरी सहयोग गर्ने उद्देश्य लिएको छ।

यसका साथै कम्पनीले राज्य सरकार, संघीय सरकार तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गरी कृषिमा सहयोग गर्न चाहने संघ–संस्था तथा नेपालीहरूको अनुत्पादक पूँजी संकलन गरी कृषिमा आधारित उद्योग व्यवसायमा लगानी गर्ने योजना अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस !