प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल बनाउन सरकार निरन्तर लागिरहेको भन्दै सबै नागरिकले आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताएका छन् ।

सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्णाली’ कार्यक्रममा बिहीबार सम्बोधन गर्दै उनले भएका सकारात्मक प्रयास र विकासलाई पनि महत्व दिन आग्रह गरे । “कसैलाई सरापेर होइन, कर्मठ भएर लाग्दा मात्र नेपाल बन्ने हो,” प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

उनले कर्णालीमा भएको विभिन्न विकास योजनाहरूको स्मरण गराउँदै भने, “विश्वविद्यालय, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रंगशाला हामीले बनाइसकेका छौँ । कर्णालीको स्याउले अब बजार पाउँछ, सदरमुकामहरू हुम्लासहित पिच सडकले जोडिन्छन् । मोटरबाटो चढी रारा घुम्ने सपना अब यथार्थ भइसकेको छ ।”

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा विशिष्ट व्यक्तिहरु तथा दर्शकहरूको सहभागितामा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल आगामी सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने तयारी भएको बताए । उनले कर्णालीलाई सरकारले गच्छेअनुसार उच्च प्राथमिकता दिने विश्वास दिलाए ।

दैलेखमा मिथेन ग्यास भण्डार पत्ता लागिसकेको उदाहरण दिंदै उनले भने, “कर्णाली त्यतिसारो वैगुनी हुन सक्दैन । अब हामीले यार्सागुम्बाको निर्यातमा पनि जोड दिनेछौँ ।”

राजनीतिक परिवर्तनको सन्दर्भमा प्रधानमन्त्री ओलीले भने, “निरंकुश राजतन्त्रको अँध्यारो युग जस्तो होइन, लोकतान्त्रिक गणतन्त्रमा कर्णालीले न्याय पाउँछ । नेपाल बन्छ, बन्दैछ । कर्णाली बन्छ, बन्दैछ । सिङ्गै नेपाल उठ्छ, कर्णाली जुरुक्क उठ्छ ।”

प्रतिक्रिया दिनुहोस !