नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५५ अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनको अल्पकालीन उपकरण अन्तर्गत निक्षेप संकलनमार्फत २१ दिनका लागि सो रकम झिक्न लागिएको हो ।
पछिल्लो समय राष्ट्र बैंकले हरेक आइतबार र बुधबार बजारबाट पैसा संकलन गर्ने क्रमलाई निरन्तरता दिँदै आएको छ । सोही अनुसार आज पनि रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजेदेखि बोलकबोल गर्न सकिनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँका गुणकमा आवेदन दिन सक्नेछन् । कुल आह्वान रकमसम्मका लागि आवेदन दिने व्यवस्था मिलाइएको छ । यस निक्षेप संकलनको साँवा तथा ब्याज असोज ५ गते भुक्तानी हुने छ ।
यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ ।










