हङकङ सरकारले नेपाली राहदानीधारक यात्रुका लागि हङकङ ट्रान्जिट भिसा अनिवार्य रहने प्रावधान हटाउने निर्णय गरेको छ। नेपाली महावाणिज्य दूतावास हङकङका अनुसार यो व्यवस्था १५ नोभेम्बरदेखि लागू हुनेछ। निरन्तर कूटनीतिक पहल र आग्रहपछि चीनको विशेष प्रशासकीय क्षेत्र हङकङले यस्तो निर्णय गरेको दूतावासले जनाएको छ। सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै यात्रा गर्न चाहने नेपालीले अनिवार्य ट्रान्जिट भिसा लिनु पर्ने व्यवस्था रहेको थियो, जसले नेपाली यात्रुहरूलाई लामो समयदेखि ठूलो सास्ती पुगेको थियो। विश्वका सबैभन्दा व्यस्त विमानस्थलमध्ये पर्ने हङकङ एयरपोर्टमा ट्रान्जिट भिसा हटेसँगै अब नेपाली यात्रुको अन्तर्राष्ट्रिय यात्रा थप सहज र सरल हुने अपेक्षा गरिएको छ। साथै, यस कदमले नेपाल–हङकङबीचको द्धिपक्षीय सम्बन्ध अझ सुदृढ बन्न सहयोग गर्ने विश्वास लिइएको छ।










