
श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यस हप्ता ठूलो विनाश निम्त्याउँदै कम्तीमा ५६ जनाको ज्यान लिएको छ र २१ जना अझै बेपत्ता छन्। हालका वर्षहरूमा देखिएका सबैभन्दा गम्भीर मौसमी प्रकोपमध्ये यो एक मानिएको छ। डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार चिया बगान रहेको बदुल्ला जिल्लामा राति आएको पहिरोमा मात्रै २१ जनाको मृत्यु भएको छ। समाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूले बाढीले घरहरू बगाएर नष्ट गरेको दृष्य देखाउँछन्। प्रभावितलाई सुरक्षित राख्न अस्थायी आश्रयस्थलहरू स्थापना गरिएको जनाइएको छ।
यसैबीच, ‘दित्वाह’ नामक चक्रवात पूर्वी तटतर्फ उन्मुख भइरहेकाले श्रीलंका थप खराब मौसमको जोखिममा छ। गहिरो दबाबको अवस्थाबाट सुरु भएको यो प्रणाली द्रुत रूपमा चक्रवातमा विकसित भएको र भारतको तटमा ल्यान्डफल गर्न सक्ने पूर्वानुमान गरिएको छ। डीएमसीका पछिल्ला विवरणअनुसार १७ जिल्लामा मौसमीय प्रकोपले असर पुर्याएको छ, जहाँ एक हजार १५८ परिवारका करीब चार हजार व्यक्तिहरू प्रभावित भएका छन्। अहिलेसम्म १० जना घाइते, तीन घर पूर्ण रूपमा ध्वस्त र ३८१ घर आंशिक क्षतिग्रस्त भएका छन्। कम्तीमा १३१ जनालाई अस्थायी सुरक्षितस्थानमा सारिएको छ।
निरन्तर वर्षाले मध्य तथा पहाडी क्षेत्रहरूमा थप बाढी–पहिरोको खतरा बढेको छ भने सडक अवरोध र यातायात बन्द हुने जोखिम अधिकारीहरूले सतर्क गराएका छन्। बिग्रँदै गएको मौसमी अवस्थाका कारण विश्वविद्यालयका परीक्षाहरू समेत बिहीबारदेखि शनिबारसम्म स्थगित गरिएको छ। आपतकालीन टोलीहरूले उच्च जोखिम भएका स्थानहरूमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् र सरकारले जनतालाई पहिरो तथा उर्लदै गएको जलस्तरप्रति अत्यन्त सतर्क रहन आग्रह गरेको छ।









