निर्वाचन आयोगले आगामी निर्वाचन तयारीलाई सुदृढ बनाउन सरकार तथा राजनीतिक दलहरूलाई संयुक्त ब्रीफिङ गर्ने तयारी गरेको छ। यस सम्बन्धमा शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्ने भएको छ। बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्नेछ।
बैठकमा सरकार, प्रमुख राजनीतिक दलका प्रतिनिधि, जेनजी प्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा निर्वाचन आयोगका आयुक्तहरू सहभागी हुनेछन्। आयोगका अनुसार, यस बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनको तयारी, कानुनी पक्ष, सुरक्षा चुनौती, स्रोत–साधनको उपलब्धता तथा आर्थिक अवस्थाबारे विस्तृत ब्रीफिङ प्रस्तुत गरिनेछ।
आयोगका अधिकारीहरूका अनुसार, सफल र विश्वसनीय निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न सरकार र राजनीतिक दलहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। एक अधिकारीका अनुसार, “सरकार चुनाव गराउने पक्षमा छ, तर राजनीतिक दलहरूबीच आपसी अविश्वास बढ्ने वातावरण बन्नु हुँदैन,” भन्नेमा आयोग स्पष्ट छ। उनले लुटिएका हतियार बाहिरै रहेको विषय समेत बैठकमा प्राथमिकतापूर्वक उठाइने बताए।
आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ, जसमा १३ राजनीतिक दलले सहभागी हुने भएको छ। त्यस्तै २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ११७ राजनीतिक दलले निवेदन दिएका छन्। आयोगले ती निवेदनहरूको अध्ययन गरिरहेको छ।









