चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनासम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा कम भए पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सुधार देखिएको छ । अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्मको राजस्व सङ्कलन लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ रहे पनि ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ । यस अवधिमा लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व उठेको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ वार्षिक राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको छ । मङ्सिर महिनाको मात्र लक्ष्य ९५ अर्ब २० करोड रुपैयाँ तोकिएको थियो । तर, सो महिनामा ८० अर्ब २७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन लक्ष्यको ८४.३१ प्रतिशत हो । मङ्सिर २९ गते मात्रै ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व उठेको मन्त्रालयले जनाएको छ ।

यद्यपि, अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु वर्षको अवस्था केही सकारात्मक देखिएको छ । गत आर्थिक वर्षमा वार्षिक राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो भने मङ्सिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ थियो । सो अवधिमा जम्मा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

त्यस्तै, गत वर्ष मङ्सिर महिनामा ७६ अर्ब ७६ करोड रुपैयाँ राजस्व उठेको थियो ।

प्रतिक्रिया दिनुहोस !