काठमाडौं महानगरपालिकाभित्र सञ्चालनका लागि अनुमति लिएका तर हाल सञ्चालनमा नआएका १ सय ७ वटा विद्यालय फेला परेका छन्। काठमाडौं महानगरपालिकाले अनुमति लिइसकेका ती विद्यालयहरू स्थलगत रूपमा सञ्चालनमा नरहेको जनाएको हो।
महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै सम्बन्धित विद्यालय सञ्चालकलाई सम्पर्कमा आउन आग्रह गरेको छ। सूचनामा काठमाडौं महानगरपालिका नगर शिक्षा समितिको मिति २०८२ साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति प्राप्त गरी सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजीका लागि शिक्षा विभागले अनुगमन, रुजु तथा यकिन गरी आवश्यक निर्णयका लागि कार्यपालिकामा पेश गर्ने निर्णय भएको उल्लेख छ।महानगरले ती १ सय ७ विद्यालयहरू यदि स्थलगत रूपमा सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारले १५ दिनभित्र काठमाडौं महानगरपालिका शिक्षा विभाग, कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र अटेर गरी सम्पर्कमा नआउने विद्यालयलाई महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि कार्यपालिकामा सिफारिस गरिने चेतावनी समेत दिइएको छ।









