आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले इजाजत प्राप्त हातहतियार बुझाउन सबै हतियारधनीलाई आग्रह गरेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलका अनुसार व्यक्तिगत सुरक्षाका नाममा स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका सम्पूर्ण हातहतियार तथा खरखजाना माघ २० गतेभित्र अनिवार्य रूपमा जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउनुपर्ने छ। निर्वाचन अवधिमा सुरक्षा संवेदनशीलता उच्च हुने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न तथा कुनै पनि अप्रिय घटना हुन नदिन यो कदम चालिएको उनले बताए।
“निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउनु राज्यको दायित्व हो, त्यसका लागि सबै सरोकारवालाको सहयोग आवश्यक छ,” सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भने। उनका अनुसार तोकिएको समयभित्र बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि, अर्थात् आगामी चैत २० गतेपछि सम्बन्धित हतियारधनीलाई नै फिर्ता गरिनेछ। हातहतियार बुझाउने र फिर्ता लिने प्रक्रिया प्रचलित कानुन तथा मापदण्डअनुसार हुने प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले तोकिएको समयभित्र हातहतियार नबुझाएमा वा प्रशासनको आदेश अटेर गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ। साथै, निर्वाचनलाई भयमुक्त र सुरक्षित बनाउन सबै नागरिक, राजनीतिक दल तथा सरोकारवाला पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न प्रशासनले आग्रह गरेको छ।










