पर्वत जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल लामो समयदेखि स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नपाउँदा गम्भीर संकटमा परेको छ । गत आर्थिक वर्षदेखि स्वास्थ्य बीमा तथा ‘डायलायसिस’ सेवाबापतको तीन करोड रुपैयाँभन्दा बढी रकम सरकारले भुक्तानी नगर्दा अस्पतालका नियमित क्रियाकलाप प्रभावित बनेका छन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलका अनुसार स्वास्थ्य बीमा गरेका बिरामीहरूको उपचार तथा परीक्षण गरेबापत सरकारले भुक्तानी गर्नुपर्ने रकम समयमै नआउँदा अस्पताल व्यवस्थापनमा समस्या देखिएको हो । सरकारबाट भुक्तानी ढिलाइ हुँदा अस्पतालको बक्यौता रकम क्रमशः बढ्दै गएको उनले बताए ।
स्वास्थ्य बीमाको रकम नपाउँदा औषधि तथा उपकरण खरिद, कर्मचारीको तलब–भत्ता भुक्तानी तथा अन्य नियमित व्यवस्थापनमा समस्या परेको डा. पौडेलको भनाइ छ । पटक–पटक भुक्तानीका लागि माग गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको उनले गुनासो गरे ।
स्वास्थ्य बीमा गरेका बिरामी सामान्य समस्या पर्दा पनि अस्पतालमा सेवा लिन आउने भएकाले उनीहरूलाई सेवा दिनुपर्ने बाध्यता रहेको डा. पौडेलले बताए । तर मन्त्रालयबाट समयमै रकम भुक्तानी नहुँदा आवश्यक औषधि, सहायता सामग्री तथा प्रयोगशालासम्बन्धी सेवामा समस्या उत्पन्न भइरहेको छ । हालसम्म अस्पताल व्यवस्थापन समितिको कोषबाट जेनतेन व्यवस्थापन गरिएको भए पनि अब संकट गहिरिँदै गएको उनको भनाइ छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारले स्वास्थ्य बीमा बोर्डमार्फत बिल भर्पाइका आधारमा स्वास्थ्य मन्त्रालयमा रकम माग गरिएको भए पनि हालसम्म भुक्तानी नआएको जानकारी दिए । जिल्लामा स्वास्थ्य बीमामा आवद्ध झन्डै ४५ प्रतिशत नागरिकले यस अस्पतालबाट सेवा लिने गरेका छन् ।
सरकारले तोकेको दररेटअनुसार सेवा प्रदान गरिए पनि प्रत्येक वर्ष बीमाबापतको रकम भुक्तानी लिन समस्या हुने गरेको परियारले बताए । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत एक परिवारले वार्षिक रु तीन हजार ५०० प्रिमियम तिरेर पाँच जनासम्मका लागि रु एक लाख बराबरको उपचार सुविधा पाउने व्यवस्था छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ७०० थप योगदानमा अधिकतम रु दुई लाखसम्मको उपचार सुविधा उपलब्ध गराइन्छ ।
केही दिनअघि अस्पताल निरीक्षणमा आएकी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमलाई बीमाबापतको रकम शीघ्र भुक्तानी गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाइएको थियो । सो अवसरमा मन्त्री गौतमले देशभरका अस्पतालहरू बीमाको रकम नपाएर समस्यामा परेको बताउँदै बजेट व्यवस्थापनका लागि विभिन्न स्रोत खोज्ने प्रयास भइरहेको जानकारी दिएकी थिइन् ।










