नेपाली बजारमा लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउ आइतबार एकाएक घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज सुनको भाउ प्रतितोला तीन लाख रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर तीन लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । लगातारको तीव्र उतारचढावले सुनको बजार अस्थिर बनेको देखिएको छ ।यसैबीच, चाँदीको भाउ पनि आइतबार उल्लेख्य रूपमा घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको भाउ प्रतितोला ७ हजार ६५ रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा आन्तरिक माग–आपूर्तिका कारण सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव देखिँदै आएको व्यवसायीहरूको भनाइ छ ।










