काठमाडौं महानगरपालिकाले ७० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आइतबारदेखि घरदैलोमै आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण कार्यक्रम सुरु गरेको छ।
आइतबार आयोजित एक कार्यक्रमबीच महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रमको औपचारिक शुभारम्भ गरेकी हुन्। कार्यक्रममा ज्येष्ठ नागरिकहरूको रक्तचाप (प्रेसर) जाँच, सेवन गरिरहेका औषधिको विवरण संकलन, मेडिकल हिस्ट्री तयार गर्ने तथा आवश्यक आधारभूत स्वास्थ्य सेवा प्रदान गरिने कार्यवाहक प्रमुख डंगोलले जानकारी दिइन्।
उनका अनुसार स्वास्थ्य प्रवर्द्धन केन्द्रसम्म आफैं पुग्न सक्ने ज्येष्ठ नागरिकलाई केन्द्रमै सेवा प्रदान गरिनेछ भने शारीरिक अशक्तता, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा नियमित रूपमा स्वास्थ्य संस्थामा जान असमर्थ ज्येष्ठ नागरिकहरूलाई घरमै पुगेर स्वास्थ्यकर्मीमार्फत सेवा उपलब्ध गराइनेछ।कार्यवाहक प्रमुख डंगोलले यस कार्यक्रमसँगै ज्येष्ठ नागरिकहरूको समग्र स्वास्थ्य अवस्थाको सर्वेक्षणसमेत भइरहेको बताउँदै यसले आगामी वर्षको नीति तथा कार्यक्रमलाई प्रमाणमा आधारित (Evidence-based) बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।आजबाट हामीले ७० वर्ष र सोभन्दा माथि उमेरसमूहका आमाबुबाहरूलाई आधारभूत स्वास्थ्य सेवा घरघरमै प्रदान गर्ने कार्यक्रम सुरु गरेका छौँ। ज्येष्ठ नागरिकहरूको अवस्था कस्तो छ भन्ने विषयमा सर्वेक्षण पनि सँगसँगै भइरहेको छ। आगामी वर्षको नीति तथा कार्यक्रम प्रमाणमा आधारित बनाउने हाम्रो उद्देश्यलाई यस कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिएका छौँ,’ डंगोलले भनिन्।
महानगरपालिकाले दीर्घकालीन रोग, शारीरिक अशक्तता तथा अन्य कारणले नियमित उपचारबाट वञ्चित ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच तथा उपचारलाई सहज बनाउने उद्देश्यले यो कार्यक्रम अघि बढाएको जनाएको छ।










