निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित देशभरका सबै वडामा स्वयंसेवक खटाउने भएको छ। जिल्ला निर्वाचन कार्यालयमार्फत देशभरका ७५३ स्थानीय तहअन्तर्गतका छ हजार ७४३ वटै वडामा स्वयंसेवक परिचालन गर्न लागिएको आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये अनुभव भएका व्यक्तिहरूलाई मतदाता शिक्षाका लागि स्वयंसेवकका रूपमा नियुक्त गर्ने प्रक्रिया सुरु गरिएको छ।
यसका लागि आयोगले माघ १९ गते मतदाता शिक्षासम्बन्धी कार्यक्रम स्वीकृत गरिसकेको छ। स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित गर्दै परिचालन गरिने र मत बदर नहुनेगरी मतदातालाई आवश्यक शिक्षा प्रदान गरिने सहायक प्रवक्ता जिसीले जानकारी दिए।
राष्ट्रियसभा सदस्य निर्वाचनमा खसेका केही मतसमेत बदर भएको अवस्थालाई मध्यनजर गर्दै मतदाता शिक्षाको आवश्यकता थप महसुस गरिएको आयोगको भनाइ छ।
आयोगले मतदाता शिक्षा दिने स्वयंसेवकको छनोट तथा नियुक्ति गरी सातै प्रदेशमा फागुन ३ गते अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। अनुशिक्षण सम्पन्न भएपछि फागुनको पहिलो साता देशभरका छ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाइने आयोगले जनाएको छ।










