काठमाडौं उपत्यकाको वायु प्रदूषण आइतबार अस्वस्थ स्तरमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’ अनुसार आइतबार मध्याह्नसम्म प्रदूषण १७५ एक्युआई पुगेको छ। यसै दिन काठमाडौं विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ। सबैभन्दा प्रदूषित शहर इजिप्टको कायरो रहेको छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन भएको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा हुनु, हावा नचल्नु, उद्योग–कलकारखाना सञ्चालन र तीव्र विकास निर्माणले वायु प्रदूषण बढाएको हो। उनले औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, क्रस बोर्डर प्रदूषण र छिमेकी भारतबाट आउने प्रदूषण पनि वायुमण्डलमा प्रभाव पार्ने बताए। पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना रहेको उनले चेतावनी दिए। विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार ०–५० एक्युआई राम्रो (हरियो), ५१–१०० सचेत रहनुपर्ने (पहेंलो), १०१–१५० अस्वस्थ (विशेषगरी श्वासप्रश्वास र मुटुरोगीलाई असर), १५१–२०० सबैका लागि अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ, र ३०० भन्दा माथि अत्यन्तै खतरनाक मानिन्छ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थामा सरकारले विपद् घोषणा गर्ने व्यवस्था गरेको छ। यस अन्तर्गत फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर र भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्थाहरू समावेश छन्।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार जल, वायु, माटो, ध्वनि, विद्युत–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा रासायनिक प्रदूषण रोकथामका लागि राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ। प्रमुख सहर, औद्योगिक क्षेत्र र प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने पनि नीति अनुसार उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस !