रामेछापदेखि ओखलढुङ्गाको सिमानासम्म जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको निर्माण कार्य अत्यन्तै ढिलो गतिमा भइरहेको छ। निर्माण व्यवसायीले समयमा काम नगर्दा सडक आसपासका बस्तीवासी, यातायात साधन र यात्रु सबैले सास्ती खेपिरहेका छन्।

पुरानो संरचना भत्काएर सडक लथालिङ्ग अवस्थामा छाडिएकाले लिखु किनार हुँदै काठमाडौँ आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ। स्थानीयले धुलो र हिलोको समस्या झेलिरहेका छन् भने उड्ने धुलोका कारण घरभित्र बस्न समेत कठिन भएको रामेछाप नगरपालिका–६ का स्थानीय राजु श्रेष्ठले बताएका छन्।

सडक खनेर छाड्दा झर्ने पहिरोले बस्तीहरू जोखिममा परेका छन्। साथै सडकबाट फालिएको ढुंगामाटोले धेरै बस्ती र कृषियोग्य जमिनमा क्षति पुगेको छ।

मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै ओखलढुङ्गाको लिखु किनारस्थित साँघुटारसम्म करिब ५२ किलोमिटर लामो यो सडक भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण भइरहेको हो।

निर्माणको जिम्मा भारतीय कम्पनी टेलिकम्युनिकेसन कन्सल्ट्यान्ट्स इन्डिया लिमिटेड (TCIL)ले पाएको छ, जसले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ।

सन् २०२० नोभेम्बर ११ मा सुरु भएको यो आयोजना २०२३ मे १० भित्र सम्पन्न हुनुपर्ने भए पनि अहिलेसम्म आधारभूत संरचना (बेस) निर्माणको काम समेत सकिएको छैन। करिब १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ लागतमा निर्माण हुने सम्झौता भए पनि प्रगति निकै सुस्त रहेको छ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि म्याद थप गरिए पनि कामले अपेक्षित गति लिन सकेको छैन। ठाउँ–ठाउँमा आंशिक काम भए पनि यही गतिमा निर्माण भइरहे अझै वर्षौँ लाग्ने देखिन्छ। निर्माण कम्पनीलाई तीव्र रूपमा काम गर्न सरकारबाट प्रभावकारी दबाब नपरेको गुनासो समेत स्थानीयले गरेका छन्।

प्रतिक्रिया दिनुहोस !