सरकारले पछिल्लो एक सातामा संघीय संसद्मा १० वटा विधेयक दर्ता गरेको छ। मंगलबार मात्रै तीन वटा विधेयक दर्ता भएका छन्।
मंगलबार दर्ता भएका विधेयकमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, केही नेपाल ऐनको व्यवस्था संशोधन गर्ने विधेयक तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक छन्। यसअघि असोज ५ गते पाँच वटा, असोज २ गते निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक र असोज १ गते फोहोरमैला व्यवस्थापन विधेयक दर्ता भएका थिए।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सरकारले कानुन निर्माणको प्रक्रियालाई तीव्रता दिएको बताएकी छन्। उनका अनुसार चालु वर्ष १६६ वटा कानुन बनाउने लक्ष्य राखिएकोमा हालसम्म ४० भन्दा बढी विधेयक दर्ता भइसकेका छन्।










