मौसम विज्ञान विभाग पोखराका मौसमविद् मीनकुमार अर्यालकाअनुसार जुन महिनामा पोखराको तापक्रमले अहिलेसम्मकै उच्च हो । यसवर्ष शुक्रबार जुन ९ मा ३६ डिग्री सेल्सियस पुगेको छ ।

‘अप्रिल र मे महिनामा चाहिँ अलि बढी गर्मी हुन्थ्यो । जुन लागेपछि प्रायजसो वर्षा हुन्थ्यो’, अर्यालले भने, ‘तर, यसपटक वर्षा भएन । जसका कारण जुन महिनामा तापक्रमको नयाँ रेकर्ड बनेको छ

सबै सिजनको हेर्दा पोखरामा अहिलेसम्मको सर्वाधिक तापक्रम सन् १९७५ अप्रिल ८ मा सबैभन्दा बढी ३७.४ डिग्री पुगेको थियो । सन् १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो ।

अघिल्ला वर्षहरुमा यतिबेला वर्षा सुरु भइसक्ने भए पनि यस वर्ष अझै केही दिन पानी पर्ने सम्भावना नरहेको मौसमविद् अर्यालले बताए । ‘अघिल्ला वर्षहरुमा यतिबेला वर्षा सुरु भइसकेको हुन्थ्यो । यो पटक अझै ३/४ दिन सम्भावना न्यून देखिन्छ’, अर्यालले भने ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम स्टेशनका अनुसार बिहीबार पोखराको तापक्रम ३५.७, शुक्रबार ३६ र शनिबार ३५ डिग्री मापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !