आर्थिक सङ्कट झेल्दै आएको हेटौंडा सिमेन्ट उद्योगलाई नियमित रूपमा सञ्चालन गर्न माग गरिएको छ। रूग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीसँगै बारम्बार बन्द र सञ्चालन हुने अवस्थाबाट गुज्रिरहेको उक्त उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने आवाज उठेको हो।

सिमेन्ट उद्योगलाई पुनः नियमित रूपमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएका छन्। उनले उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय तथा बागमती प्रदेश सरकारसँग पहल गरिरहेको बताएका छन्। प्रधानमन्त्री र उद्योगमन्त्रीसँग समेत छलफल गरिसकेको उल्लेख गर्दै उनले बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि सकारात्मक कुराकानी भएको जानकारी दिएका छन्।उनका अनुसार उद्योगका कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै सुझाव संकलन भइरहेको छ र उद्योग सञ्चालन सम्भव भए पनि सरकारी संरचनामा सेवामुखीभन्दा तलबमुखी प्रवृत्ति हावी भएको देखिएको छ। उद्योगमा हुने राजनीतिक हस्तक्षेप र आन्तरिक भ्रष्टाचार नियन्त्रण गरी सक्षम व्यवस्थापन टोली गठन गर्न सके उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ।उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा गत भदौ १९ देखि २४ गतेसम्म मात्र पाँच दिन उद्योग सञ्चालन भएको थियो, जसमा २ हजार ५०० टन क्लिङ्कर र करिब ३० हजार बोरा सिमेन्ट उत्पादन भएको निमित्त महाप्रबन्धक डा. शिव नारायण साहले जानकारी दिएका छन्।गत चैत १३ गतेदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरिए पनि कच्चा पदार्थ अभावका कारण फेरि रोकिएको छ। कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता भुक्तानी गर्न नसक्दा आपूर्ति हुन सकेको छैन। दैनिक कम्तीमा १२० टन कोइला आवश्यक पर्ने भए पनि हाल आपूर्ति ठप्प रहेको जनाइएको छ।हाल मौज्दात कच्चा पदार्थबाट उत्पादन भइरहेको भए पनि एक–दुई दिनमै उत्पादन पूर्ण रूपमा ठप्प हुने अवस्था रहेको उद्योग प्रशासनको भनाइ छ। उत्पादन बन्द भए पनि कर्मचारी तलब, इन्धन र मर्मत खर्च भने निरन्तर भइरहेका छन्। आर्थिक अभावका कारण अतिरिक्त कामको भुक्तानीसमेत दिन नसकिएको उल्लेख गरिएको छ।उद्योगमा हाल १६६ स्थायी, १०० दैनिक ज्यालादारी र ५२ सुरक्षाकर्मी गरी कुल ३१८ जना कार्यरत छन्। विद्युत् महसुलसमेत लामो समयदेखि तिर्न नसक्दा करिब ३०–४० करोड रुपैयाँ बक्यौता रहेको छ।

वि.सं. २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगले २०४३ सालदेखि उत्पादन सुरु गरेको थियो। हाल उपकरण पुराना भइसकेकाले उत्पादन क्षमता प्रभावित भएको प्राविधिकहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस !