पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यालय नवलपरासीले आजदेखि आफ्नै नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ संरचना निर्माण गरिएको जानकारी दिएका छन्।
विगत तीन वर्षदेखि निर्माणाधीन कार्यालयले यस अवधिमा उद्योग वाणिज्य सङ्घ नवलपरासीको भवनबाट सेवा दिँदै आएको थियो।वि.सं. २०७९ चैतमा भवन निर्माणको ठेक्का पाएको कम्पनीले २०८१ पुस मसान्तसम्म काम सक्नुपर्ने लक्ष्य राखिएको थियो। तर विभिन्न कारणले समयमा काम सम्पन्न हुन नसकेपछि चालु आर्थिक वर्षभित्रै निर्माण पूरा गर्ने निर्णय गरिएको थियो।
सोही अनुसार ठेकेदार कम्पनीले २०८२ चैत २६ गते भवन औपचारिक रूपमा हस्तान्तरण गरेको प्रजिअ नेपालले बताए। सुविधासम्पन्न तीनतले भवन करिब ७ करोड ८७ लाख ९२ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो।
रासस









